पार्कका बारेमा सोच

सम्पदकीय
टीकापुर नगरपालिका र यस क्षेत्रका प्रदेश र संघिय सांसदले पार्कका बारेमा सोच्न जरुरी छ । पछिल्लो पटक पार्कप्रति नकारात्मक टिप्पणी बढ्दै गएको
छ । पार्कमा आएका पर्यटकले केही रहेनछ भन्दै नाक खुम्चाउने गरेका छन् । टीकापुरको पहिचान पार्क पनि हो । टीकापुरमा हवाई मैदान निर्माण गर्ने छलफल हुन्छ तर भएको पार्क संरक्षण गर्नमा कसैको ध्यान जादैन । पार्क भन्ने बित्तिकै नीजि क्षेत्रलाई दिनुपर्छ भन्ने आवाज आउछ । नीजि क्षेत्रलाई दिनु भन्दा पहिला हामीले पार्क संरक्षण गर्ने तत्परता देखाउनुपर्छ । ऐतिहासिक पार्क मात्र होइन भुगोलको दृष्टिकोणले पनि महत्वपूर्ण छ टीकापुर पार्क । यस्तो पार्कमा बजेट पार्न सबै एकजुट हुन जरुरी छ । नगरपालिकाले ठोस गुरुयोजना बनाएर क्रमशः पार्क निर्माणमा लाग्ने र सफल हुने हो भने टीकापुरमा आन्तरिक मात्र होइन बाह्य पर्यटक पनि आउनेछन् । के काम गर्दा हामीलाई लाभ हुन्छ भन्ने सवालमा बहस छैन केवल कुन संघसंस्थामा को जाने कसरी सुबिधा खाने भन्ने मात्र छ । टीकापुर पार्कलाई व्यबस्थित गर्न राज्यलाई दवाव दिन जरुरी छ । दबाब दिनका लागि टीकापुरका नागरिकको भावना एक हुन जरुरी छ । सबै राजनीतिक दलका नेताहरुले जनप्रतिनीधिलाई दबाब दिने र त्यतिले नभएपछि सरकारलाई दबाब दिन सडकमा आन्दोलन समेत गर्न जरुरी छ । गणतन्त्र भन्ने टीकापुरमा भएका संरचनाको संरक्षण नहुने भएपछि गणतन्त्र टीकापुरका लागि किन चाहियो ? गणतन्त्रमा ठगिनुपर्ने हो भने त्यस्तो गणतन्त्रको पक्षमा किन उभिने ? व्यक्ति बिशेषका लागि टीकापुरले किन त्याग गर्ने ? तसर्थ टीकापुरबासी एक भएर पार्क संरक्षणमा जुट्न जरुरी छ । विकासका नाममा हुने भाषण बन्द गरौं । केवल देखावटी कुरा गरेर ठालू बन्ने प्रबृत्तिलाई निरुत्साहित गर्न जरुरी छ ।