पोखरीमा भएको लापरबाहीको जिम्मा कसले लिने ?

सम्पादकीय
टीकापुर स्थित एकतानगर बस्तीका ९ बर्षिय राजविक्रम शाहीको पोखरीमा डुबेर मृत्यु भएको छ । कात्तिक १४ गते ५ जना बालक शिबनगर बस्तीमा रहेको पोखरीमा नुहाउने क्रममा मृत्यु भएको हो । सडकको छेउमा रहेको पोखरी माछा पालनका लागि गहिरो बनाइएको छ । अहिले माछा पोखरी भएपनि पहिला सडक निर्माणका लागि माटो निकालिएको थियो । माछा पाल्नका लागि पोखरी बनाउन थप माटो निकाल्दा ठूलै मान्छे डुबाउने खाल्डो भएको छ । यसरी खाल्डो बनाएर बस्तीको बीचमा माछा पालन गर्दा सुरक्षा अपनाइएको पाइदैन । सडक छेउमा रहेको खाल्डोका बारेमा माछा पाल्ने व्यक्ति सचेत भएको पाइदैन भने स्थानीय सरकारले पनि ध्यान दिएको पाइदैन । क्याम्पसको जग्गामा यसरी माछा पालन गर्ने अनुमति कसले दियो रु माछा पालन गर्न अनुमति दिने निकायले दुर्घटनाका बारेमा सुरक्षा अपनाएको देखिएन । बालबालिका पौडी खेल्न जान सक्छन् भन्ने बारेमा पोखरी सञ्चालक सचेत भएको भए यो दुर्घटना हुने थिएन । कसैको जीवन अनाहकमा सकिनु राम्रो होइन । बालकका परिवारलाई मर्का परेको छ । आज एकजनालाई पर्यो भोली अर्कालाई पर्न सक्छ तसर्थ स्थानीय सचेत हुन जरुरी छ । दुर्घटना भन्ने कुरा भनेर या जानकारी गराएर आउने कुरा होइन । दुर्घटनाका बारेमा हरेक व्यबसायी सचेत हुनुपर्छ भने समाज र स्थानीय सरकार पनि सचेत हुन जरुरी छ । यत्रो खाल्डो बनाउँदासम्म नगरपालिकाले ध्यान नपुर्याउनु गलत हो । नागरिकको जीवनका बारेमा स्थानीय सरकार गम्भिर हुन जरुरी छ । मृत्यु भएको वालक र उसको परिवारले न्याय पाउनुपर्छ । न्याय दिलाउने सवालमा नगरपालिका गम्भिर हुन जरुरी छ । एउटा परिवार शोकमा डुबेको छ यस्तो अवस्थामा नगरपालिकाले यथासिघ्र शाहीका परिवारलाई राहत दिनुका साथै पोखरीका कारणले भविष्यमा कसैको मृत्यु नहोस् भनेर निर्णय गर्न जरुरी छ ।