सम्पादकीय
नेपालको राजनीतिमा प्रतिपक्षमा बसेपछि मात्र देश र जनताको याद आउछ । २०६२÷०६३ को आन्दोलनपछि लगातार सत्तामा ढुलिमूली गर्दै आएको माओवादी एक महिना अघिसम्म सत्तामा थियो । सत्तामा हुँदा सुधार कुरा भएनन् । भ्रष्टाचार रोक्ने सवालमा होस् या राज्यका बिभिन्न निकायमा हुने नियुक्तिका बारेमा माओवादी गम्भिर भएन । कतिपय नियुक्तिमा बद्नाम पात्रलाई खोजि खोजी राख्ने काम भयो नागरिक स्तरबाट बिरोध हुँदा माओवादीलाई बिरोधले छोएन । चरम बेथितिको आहलमा मोज गर्न पल्केका माओवादीले सस्तो लोकपृयताका लागि लडाकु र सहिद परिवारलाई राहत दिने कार्यक्रम बाहेक केही आएनन् । देशको अवस्था सुधार भए लडाकु र सहिद परिवारको आर्थिक अवस्था सुधार हुने थियो । लडाकु र सहिद परिवारलाई रोजगार छैन । उपचार गर्न पैसा छैन । नागरिकको दैनिकि कष्टकर छ तर नेताहरुलाई यस्ता बिषयले छोएन । सत्तामा टिकिराख्न हरेक प्रपञ्च भयो तर नागरिकको काम भएन । समाजमा सही र गलतका बारेमा बोल्न नसक्दा गलत मान्छेले प्रसय पाइरहेका छन् । गलत मान्छेले प्रसय पाउँदा गलत सामाजिक अगुवाको सम्मान पाउने वातावरण बनाइएको छ । समाजमा पु¥याएको योगदान या उसले खेलेको भूमिकाको बारेमा निस्पक्ष भएर बिश्लेषण गर्नुको साटो गलत व्यक्तिको देवत्वकरण गर्ने गरिएको छ । पछिल्लो समय सबै उस्तै हुन् को चोखा छन् भनेर चिया पशलमा गफ गरेको पाइन्छ । सबै उस्तै हुन् भनेर भास्य तयार गर्नेहरु या त आफु बद्नाम छन् या उनका नातेदार बद्नाम छन् जसले सामाजिक अभियानका नाममा पदको चरम दुरुपयोग गरेका छन् । अवसर पाएकाबेला राम्रो गर्नुपर्छ भनेर थोरैले सोच्ने गरेका छन् । अवसर पायो कसरी लुट्ने र आफ्नालाई पोस्ने ध्यान हुन्छ । अवसर पाएका बेला मनपरी गर्ने अनी पद गएपछि यसो गरे उसो गरे फलानाले यसो गर्न दिएन उसो गर्न दिएन भनेर जनता ठग्ने काम गरेको पाइन्छ । सत्तामा बसेकाबेला यो अन्तिम अवसर हो भनेर काम गर्नुपर्छ । अवसर पाएकाबेला जनताको पक्षमा काम गरेको भए जनताले पत्याउने थिए । जनतालाई ठग्ने काम मात्र भइरहेको छ । जनताका सामु आदर्शका कुरा गर्ने अनी सत्तामा गएपछि लुट्न व्यस्त हुने राजनीतिबाट नेपाली जनता मुक्त हुन चाहन्छन् ।