फोहर व्यबस्थापन गर्ने ठाउँको खोजी गर

सम्पादकीय
टीकापुर नगरपालिकाले फोहर व्यबस्थापन गर्ने स्थल भेटाएको छैन । संकलन भएको फोहर जहाँपायो त्यही फाल्ने गरिएको छ । सधै फोहर जथाभावी व्यबस्थापन गर्न मिल्दैन टीकापुर नगर सफा राख्ने हो भने यथासिघ्र फोहर व्यबस्थापन गर्ने स्थलको खोजी हुनुपर्छ । नगरमा संकलन भएको फोहर फाल्ने ठाउँको व्यबस्था भएको छैन अनी ठूला ठूला योजनाको कुरा गर्नुको अर्थ छैन । फोहर व्यबस्थापन पहिलो शर्त हो । संकलन भएको फोहर कहाँ व्यबस्थापन भइरहेको छ भन्ने प्रश्न ग¥यो भने लाजमर्दाे जवाफ आउछ । यसरी टीकापुरमा फोहर व्यबस्थापन चुनौती बन्दै गएको छ । आफ्नो ठाउँ सफा राख्न नागरिक सचेत हुनुपर्छ । कसैले सफा गर्ने कसैले फोहर गर्ने हो भने घर पनि सफा हुँदैन । सार्वजनिक स्थल सफा राख्नु सबैको कर्तव्य हो । टीकापुर बजार सुन्दर देखिएको छ । पछिल्लो समय गुलावको सहर बनाउने भनिएको छ । गुलावको फूल त फुलाउन सकिएला तर नगरको फोहर कहाँ फाल्ने भन्नेमा सोचेको पाइदैन । फोहर व्यबस्थापन गर्ने बिषयमा स्थानीय एक हुन जरुरी छ । सहरी विकास मन्त्रालय मार्फत आएको बजेटले कालोपत्रे गर्ने काम भएको छ भने चारवटा चौराहाले उत्तिकै सुन्दरता थपेको छ । व्लक ‘ए’ यतिखेर सिंगारिएको छ । बजार चिटिक्क भएको छ । यसरी चिटिक्क भएको बजारलाई सफा राख्न नगरपालिकाले पनि मेहनत गरेको छ । व्यबसायीले पनि आफ्नो पशलबाट निस्कको फोहर डस्टविनमा राख्न जरुरी छ । फोहर संकलन गर्ने डस्टविन हरेक ठाउँमा राखिएको छ । नगरपालिकाले डस्टविनको व्यबस्था गरेको छ भने नागरिकले उक्त डस्टविनको सही सदुपयोग गर्नुपर्छ । बजार क्षेत्रमा गुट्का लगायत अन्य कुरा खाएर फोहर गर्नु अपराध हो । साना साना फोहरका टुक्राले बजारको सुन्दरता बिगार्ने गरेको छ । थुक्दा पनि बिचार गर्नुपर्ने अवस्था छ । चिटिक्क भएको सहरलाई सबैले सफा राख्न प्रयास गर्ने हो भने टीकापुरमा आउने हरेकले आहा भन्छन् । स्वास्थ्यका लागि पनि बजार क्षेत्र सफा राख्न जरुरी छ । फोहर व्यबस्थापनमा कसैले राजनीति गर्नु हुँदैन । फोहर व्यबस्थापन गर्नका लागि स्थानको खोजीमा नगरपालिकाले सकृयता देखाउनु पर्छ ।