सम्पादकीय
यतिखेर संघिय संसदमा बजेट बारे छलफल भइरहेको छ । बजेट आफ्नो क्षेत्रमा नपरेपछि सांसदहरु आक्रोशित भइरहेका छन् । मन्त्री र पहुँचवाला नेताले बजेट आफ्नो क्षेत्रमा लगेपछि संसदमा चर्काे आलोचना भइरहेको छ । आफुले मौका पाएका बेला बजेट लैजाने प्रचलनले समानुपातिक विकास हुन सकेको छैन भने क्रमागत विकास अबरुद्ध हुने भएका छन् । मनपरी बजेट हाल्ने प्रचलन प्रदेशमा समेत बढ्दै गएको छ । यसरी मनपरी गर्ने प्रचलन बढ्दै जाँदा यस पटक सत्ता पक्षकै सांसदहरुले बजेटको बिरोध गर्न थालेका छन् । सत्ता पक्षले बजेटको बिरोध गर्ने प्रचलन थिएन तर यस पटक संघ र प्रदेश बजेटका बारेमा व्यापक बिरोध सत्ता पक्षबाट भइरहेको छ । नेपालमा लगानी गर्दा प्रतिफलको बिश्लेषण नगरी पहँुचवाला हुँ भनेर देखाउन विकास बजेट खर्च गर्ने प्रचलन बढेको छ । प्रधानमन्त्री या मन्त्री होस् उसको क्षेत्रमा विकास निर्माण हुनुप¥यो । लगानी अनुसारको प्रतिफल दिने बारेमा बिश्लेषण गर्ने समय हुँदैन किन कि कतिबेला कुर्सी हातबाट जाने हो । कुर्सी हातमा भएका बेला आफ्नो क्षेत्रमा बजेट खन्याउने प्रचलन बढ्दै जाँदा विकासले जुन प्रतिफल दिनुपर्ने हो त्यो दिन सकेको पाइदैन । पोखरा र भैरहवामा अन्तराष्ट्रिय बिमान स्थल निर्माण भए । पोखरामा करिब २२ अर्ब खर्च भएको छ भने भैरहवामा पनि त्यतिकै बजेट खर्च भएको छ । अहिले साढे २१ खर्ब ७० अर्ब ऋण भइसक्यो तर प्रतिफलका योजना खासै छैनन् । यसरी प्रतिफलका बारेमा ध्यान नदिने हो भने ऋण लिएको पैसाको साँवा र व्याज कसरी बुझाउन सकिन्छ ? दातृ निकायले दिन्छ भन्दैमा सहयोग र ऋण लिने अनी जथाभावी खर्च गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । तसर्थ नागरिक पनि सचेत हुन जरुरी छ । नेताहरु विकास देखाएर जनतालाई भ्रममा पार्न खोज्दै छन् । समग्र मुलुकको हित कसरी हुन्छ भन्ने बारेमा ध्यान छैन । सुशाषन कायम गर्ने बिषयमा दलका नेताहरु गम्भिर छैनन् । कानून हातमा लिएर स्वघोषित राज भएका नेताहरु जनता ठग्नमा लागेका छन् ।