सम्पादकीय
बजेट निर्माणका क्रममा संघ देखि प्रदेश मन्त्रीको कार्यालयमा बजेट माग्नेको लर्काे देख्न पाइन्छ । संस्थाको पैसा लियो बजेट माग्न हिँड्यो । बजेटको आवश्यक्ता बारेमा स्थानीय तहमा छलफल भएको पाइदैन । बजेटको आवश्यक्ता आधारमा होइन जति पाइन्छ लिने काम हुन्छ । बर्षेनी टुक्रा टुक्रा योजना बनाएर बजेट रकम सक्ने काम मात्र भइरहेको छ । ठोस योजना बनाएर दिर्घकालिन काम गरौं भन्ने सोच मन्त्रीहरुको पनि छैन । यो देशभरीको रोग हो यसमा टीकापुर पनि पछि पर्ने कुरै छैन । पछिल्लो समय टीकापुरमा होस् अन्य क्षेत्रमा होस् विकास बजेट माग्नेका नाममा भइरहेको अभ्यासले गलत सन्देश दिएको छ । हरेक संघ संस्थाका सदस्यहरु र घरघरका सामाजिक व्यक्तिहरुले जसरी फाइल बोक्दै विकास बजेट माग्न गएको देखिन्छ यसले गलत अभ्यास भइरहेको प्रष्ट हुन्छ । यसरी व्यक्तिले प्रभावमा पारेर बजेट माग्ने हो भने बजेट कनिका छराई हुने निश्चित हो । सुदुरपश्चिममा अघिल्लो कार्याकालमा बजेट कनिका छराई भयो । कनिका छराई बजेटले कसैको पनि हित हुँदैन । यस पटक बजेट करिब २९ अर्बको बजेट आयो । यो बजेट पास गर्न सकिदैन भनेर एउटा टोली पूर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेको छ । यो अवस्था किन आयो ? सांसदको टोली गएर बजेट पुरा गर्न सकिदैन भन्नुपर्ने अवस्थाका बारेमा अध्ययन किन नगर्ने ? मन्त्रीसंग बजेट माग्नेको होडवाजी छ । सबैले मन्त्रीसंग बजेट माग्न जाने हुन् भने सांसद किन चाहियो ? सांसद मार्फत बजेट माग्ने नीति बनाउन जरुरी छ । आफ्नो ठाउँको योजनका बारेमा व्यापक छलफल गरेर मात्र बजेट खोज्न जाने हो भने बजेट पाइन्छ । सुदुरपश्चिम का बजेट प्रति असन्तुष्ट सांसदको अवस्थालाई बिश्लेषण गर्ने हो भने मन्त्रीले मनपरी आफनो क्षेत्रमा बजेट पारेको प्रष्ट हुन्छ । सबै क्षेत्रका सांसदहरुको बलले मन्त्री हुने अनी मन्त्री भएपछि आफ्नो क्षेत्र मात्र हेर्नेहरुबाट देशले पार पाउँदैन ।