बिद्युतका कर्मचारीको मनपरी

सम्पादकीय
टीकापुर स्थित बिद्युत कर्मचारीको मनपरीले आम नागरिक दिक्क भएका छन् । प्रणाली नै खराब भएको अवस्थामा बिद्युतका कर्मचारीले सबै ठिकठाक गर्छन् भन्ने होइन तर बिद्युतका कर्मचारीले सेवा दिँदा पैसालाई प्राथमिकता दिँदै आएको नयाँ कुरा भएन । अहिलेको युगमा टीकापुर बजार क्षेत्रमै फ्रिज , एसि लगायतका उपकरण नचल्नु भनेको दुःखद् हो । भोल्टेज नपुगेपछि सेवाग्राहीले निबेदन दिंदा ५ दिनसम्म सुनुवाई हुँदैन । जेठ महिनाको प्रचण्ड गर्मीमा सेवाग्राहीको समस्या समाधान गर्नुको साटो सताउने व्यबहार प्रदर्शन गर्छन् । गर्मीमा कतिबेला बत्तिको समस्या हल होला भनेर आशा गर्नु अपराध होइन । बत्ति चाडो बनाएको भए सजिलो हुन्थ्यो भन्नु अपराध होइन तर एउटा इञ्जिनीयरले साँझ सेवाग्राहीसंग बिहान ९ बजे आएर हेर्छाै भन्छन् अनी आउँदैनन् । इञ्जिनीयर नआएपछि सेवाग्राहीले आउनु भएन भनेर फोन गर्दा उनी भन्ने बित्तिकै हुन्छ भन्दै नआउन पनि सक्छु भन्छन् । त्यति मात्र होइन नआउन पनि सक्छु के गर्नु हुन्छ भनेर कसिन्छन् । यो अराजक व्यबहारले नागरिकलाई कस्तो महशुस हुन्छ ? सेवाग्राहीको तीन फेजको लाई ५० मिटर मात्र टाढा छ भने चार फेजको लाईन ७० मिटर मात्र टाढा छ । यति सामान्य कुरामा पनि बिद्युत प्राधिकरणका कर्मचारीले बिद्युत आपूर्ति समस्या सबै ठाउँमा हो भनेर टार्ने गरेका छन् । बजार क्षेत्रमा सिंगल फेजको भोल्टेजले पूग्दैन भन्ने कर्मचारीलाई पनि थाहा छ तर उनहीरु काम गर्न चाहदैनन् । सेवाग्राहीलाई सताएर पैसा झार्न बानी परेका कर्मचारीहरु नागरिकले बेहोर्नु परेको सास्तीका बारेमा ध्यान छैन । केवल पैसा कमाउने सोच पालेकै कारण सेवामा समस्या आएको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष गर्मीको शुरुमै बत्ति पटक पटक गइरहेको छ । अघिल्लो बर्षको तुलनामा बिद्युतको क्षमता बढाइएको छ तर बत्ति पटक पटक गइरहेको छ । बत्ति किन गयो भन्ने हो भने भोल्टेज पुग्दैन भन्ने सजिलो जवाफ दिने गरेकाछन् । बिद्युतका कर्मचारीको मनपरीले नागरिक दिक्क भएका छन् । यस्तो अवस्थामा नागरिक समाजले पनि चासो राख्न जरुरी छ । भ्रष्ट र काम चोर कर्मचारी टीकापुरमा बस्नैपर्छ भन्ने छैन । काम नगर्नेहरुलाई कार्यालयमा बस्ने अधिकार पनि छैन ।