टीकापुर,२८ बैशाख/टीकापुर स्थित बीरेन्द्र बिद्या मन्दिरको गुठियार सचिबमा बीरेन्द्र बिद्या मन्दिर उच्च माध्यमिक विद्यालयका प्राचार्य फणेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ ।
रेग्मीलाई बुधवार बसेको गुठियार समितिको बैठकले बैशाख २६ गतेबाट लागु हुनेगरी सचिबमा नियुक्त गरेको हो । रेग्मीको कार्यकाल तीन बर्षको हुनेछ । गुठियार सदस्य कृष्ण बजगाई संयोजक र नगरपालिकाका शिक्षा शाखाका अधिकृत नरेश अवस्थी , गुठियार सदस्य जगदिश्वर पण्डित सदस्य तथा बिज्ञ सदस्यका रुपमा सह प्राध्यापक द्वारिका भण्डारी र सदस्य सचिब किर्तिसिंह बम रहेको छनौट समितिले रेग्मीलाई गुठियार सचिबमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
२०५९ सालबाट गुठिको अवधारणा बनाएर क्याम्पस र उच्च माबिबीच समन्वय गर्ने काम भइरहेको थियो ।
निबर्तमान गुठियार सचिब बमले २०६५ साल देखि २०८० सालसम्म काम गर्नुभयो । ‘‘१५ बर्ष सचिब भएर काम गरे, गुठिको काम समन्वय गर्दै शैक्षिक गुर्णस्तर कायम गर्ने, अनुगमन र अनुशासन कायम गर्ने हो ’’ बमले भन्नुभयो,‘‘संरक्षणको भूमिका निभाउन गुठिले काम गर्छ ।’’ सकेजति योगदान गरे, सबैले सहयोग गर्नुभयो भन्दै नयाँ गुठि समितिलाई पनि सक्दो सहयोग गर्ने बमले बताउनुभयो ।
बम सचिब हुनु अघि पूर्ब प्राचार्य धनञ्जय तिमिलसेना र त्यसपछि मानसिंह रावलले सचिबको भूमिका निभाउनु भएको थियो । भौतिक सम्पत्तीको दृष्टिकोणले बलियो शैक्षिक संस्था भएपनि पछिल्लो समय बीरेन्द्रमा बिद्यार्थी घट्दै गएका छन् ।