टीकापुर, ५ फागुन/टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विद्यालय ५० वर्ष पुगेको अवसरमा यही फागुन ९ देखि ११ गतेसम्म हुने स्वर्ण महोत्सवका लागि आवश्यक पर्ने मञ्च निर्माण र टेण्ट को व्यबस्था लगायतका काम भएको विद्यालय ले जनाएको छ ।

स्वर्ण महोत्सवको अवसरमा निर्माण भएको स्वर्ण स्तम्भ तयार भएको छ भने स्मारिका छपाई भइरहेको छ । महोत्सवको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले ९ गते गर्नु हुने कार्यक्रम रहेको छ । पहिलो दिन महोत्सवको उद्घाटनपछि स्वर्ण स्तम्भको अनावरण र लाईब्रेरी उद्घाटन गर्ने कार्यक्रम छ ।

सोही दिन सम्मानित हुनेहरुलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ भने केही वक्ताको मन्तव्य पनि राखिएको छ ।
महोत्सवमा पर्यटन प्रवद्र्धन समृद्धि, आर्थिक, शिक्षा, साहित्य र पूर्व विद्यार्थी मिलन गरी ५ वटा बिषयमा बहस हुने जनाइएको छ ।
बहसका कार्यक्रम १० र ११ गते हुनेछन् । कार्यक्रमलाई व्यबस्थित गर्न गुठियार प्रमुख नवराज रावलको अध्यक्षतामा एक सय ४२ सदस्यीय समिति गठन गरिएको छ ।
महोत्सवमा विद्यालयको इतिहास झल्कने गरी स्मारिका प्रकाशन गर्न लागिएको छ । ‘‘महोत्सवको तयारी अन्तिम चरणमा छ’’, कार्यक्रम निर्देशक नवराज रावलले भन्नुभयो,‘‘सरसफाई गर्नेदेखि बिरुवा लगाउने तयारी सकिएको छ ।’’
महोत्सवका लागि स्तम्भ तयार भएको छ भने अभिनन्दनका लागि प्रदान गरिने ताम्रपत्र तयार भएको रावलले जानकारी गराउनुभयो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा करिब रु. ७० लाखका संरचना निर्माण भइरहेका छन् । यसरी निर्माण हुने संरचनामा विद्यालयको खर्चबाट नभइ अन्यत्र बाट स्रोत जुटाएर गरिएको छ । विद्यालयमा व्यवस्थित स्टाफ हल तयार गरिएको छ भने ३ वटा शौचालय निर्माण गरिएको छ । यसैगरी म्यानुयल र ई–लाईब्रेरी स्थापना गरिएको छ । भव्य मञ्च तयार भएको छ भने विद्यालय वरपर २ सय वटा बिरुवा लगाइने भएको छ ।
स्वर्ण महोत्सवले पूर्व विद्यार्थी लाई मात्र होइन समग्र टीकापुरमा उत्साह थपिएको छ । महोत्सव कै कारण विद्यालयलको थप प्रचार हुने आशा गरिएको छ । भौतिक संरचना थपिएपछि पठन पाठनमा सहज हुने भएको छ । स्वर्ण महोत्सवले विद्यालयको मात्र नभई समग्र टीकापुरको विकास संग जोडर हेर्न थालिएको छ ।
स्वर्ण महोत्सवमा सहरी विकास मन्त्री आएका बेला टीकापुर स्मार्ट सिटीको बजेट नियमित गर्न एकै स्वरले आवाज उठाउने हो भने काम हुन्छ ।