बैङ्कको समस्या ग्रस्त

सम्पादकीय
नेपालका बैङ्कले कोरोना अघि बचत संकलनका बारेमा धेरै गुनासो गरेको पाइदैन तर कोरोना कालपछि बैङ्कले संचितिका कुरा उठाउँदै आएका छन् । बैङ्कमा जमा हुनुपर्ने रकम कम भएपछि तरलता अभाव हुनु स्वभाविकै हो । तरलताको कुरा मात्र उठाउने बैङ्कहरुले ठूला व्यापारी घरानालाई भने पैसाको समस्या
छैन । सानो पूंजी लिने नागरिकलाई लगानी छैन भन्ने अनी ठूला व्यापारीले पैसा पाउँने आधार के रहेछ ? व्यापारी र बैङ्क सञ्चालक एउटै भएपछि समस्या भएको छ । देशको आर्थिक अवस्था पारदर्शि नहुँदा बैङ्क सञ्चालकहरुले मनपरी गर्ने मौका पाएका छन् । मदिरा बिक्रि गर्ने एउटा पशलमा करिब अरब रुपैयाँ बैङ्कको लगानी भएको समाचार आएको छ । मदिरा बिक्रि गर्ने पशलमा अरब लगानी गर्ने बैङ्कको नियत प्रष्ट हुन्छ । एउटा व्यापारमा तीन तीन वटा बैङ्कको लगानी रहेछ । यसरी बैङ्क देशको आर्थिक अवस्था सुधार्नु भन्दा नितान्त केही व्यक्ति मोटाउने गरी खुलेका रहेछन् । नागरिकका राम्रो जग्गा धितो राख्ने अनी कसरी लिलाम गराउन सकिन्छ भन्ने सोच पालेर बैङ्क सञ्चालन गर्नेहरु कै कारण देशको आर्थिक अवस्थामा सुधार हुन सकेको छैन । बैङ्क सञ्चालकहरुले मनपरी बैङ्कको पैसा खेलाउने प्रचलन रहेछ । यसरी पैसा खेलाउनेहरुले नाफा बाहेक अरु केही खोज्ने कुरै भएन । सरकारले आफ्नो आर्थिक नीति बनाउँनु भन्दा यिनै व्यापारीको दबाबमा काम गर्दै आएका छन् । बैङ्क सहयोगि हुनुको साटो ठूला घरानियालाई मोटाउने साधन मात्र भएको छ । सरकार बैङ्कको कारोबारमा पनि गम्भिर हुन जरुरी छ । बैङ्कमा लगानी गरेका ठूला व्यापारीले नेपालमा जम्मा भएको पैसा उद्योगमा लगानी गर्नेका नाममा बिदेश लैजान थालेका छन् । बिदेश पैसा लगेर भागेपछि नेपाल सरकारले केही गर्न सक्ने अवस्था छैन । भारतमा निरब मोदी, बिजय माल्या जस्ता कैयन ठूला कारोबारीले बैङ्कबाट ऋण लिएर भागेका छन् । यसरी भाग्दा भारत जस्तो ठूलो देशलाई समस्या भएको छ भने नेपालको अवस्था कस्तो होला ? नेपालका व्यापारी भाग्दैनन् भन्ने के ग्यारण्टी         छ । तसर्थ सरकार समयमै सचेत हुन जरुरी छ ।