भजनीका बाढी पीडित घर फर्कन थाले

दुर्गा देवकोटा
टीकापुर, ८ असोज/कैलालीको भजनीका बाढी पीडित एक साता पछि घर फर्कन थालेका छन् । डुवानमा परेका घरहरुमा पानी सुक्दै गएपछि बाढी पीडितहरु घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लुगा कपडा सुकाउन थालेका छन् ।
भजनीमा ७ हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । ४ हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझैँ ३ हजार बढी परिवार फर्कने वातावरण बनेको छैन । बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका छन् । घर फर्कदा अधिकाँश पीडितको रुवाबासी चल्ने गरेको छ ।


भजनीका ध्वजबहादुर विश्वकर्मा को परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ । शुक्रबार घर फर्केर घर सफाईमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ । उहाँका घरका अन्नपात, लुगाकपडा सबै नष्ट भएका छन् । उहाँको परिवार राहत पाएमा खाउला भन्ने आशामा बसेको छ । ‘‘बाढीले सामान सडेर गन्हाउन थालेको छ । हामी सरसफाईमा जुटेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘सडकमा कति दिन बस्नु, चिउरा र चाउचाउले मात्र ज्यान कसरी धान्नु, स्थानीय सरकारले राहत दिन थालेको छ । त्यही खानुपर्ला ।’’


भजनीकै धनबहादुर चौधरीको परिवार पनि घर फकिएको छ । उहाँको परिवार घर फर्कदा घरका भित्ता भत्किएका, अन्न राख्ने ९माटोका डेहरी० भाडा समेत फुटेका छन् । ‘‘अलिअलि बोकेर लगेको अन्न थियो, त्यही अन्न पकाएर खान थालेका छौँ’’, धनबहादुर भन्नुभयो, ‘‘सरकारले घरको उच्च जग बनाइदिएको भए हुन्थ्यो, सरकारले नगद रकम दिएको भए हामी आफैँ आवश्यक सामान किन्ने थियौँ ।’’
वडा नं। ८ का वडा सदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले बिचल्ली बनाएको छ । उहाँ पनि एक साता हुलाकी सडकमा बसेर घर फर्कनुभएको छ । घर सरसफाइमा जुटेका थारुको परिवार पनि सरकारले बर्सेनि पीडा सहने यहाँका नागरिकका समस्या समाधान गर्नुपर्ने माग गर्नुहुन्छ । तत्काल पीडितलाई अन्न र त्रिपालको व्यवस्था गरिदिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । ‘‘घर सरफाइ गर्न समेत समस्या छ । अधिकांँशका घरमा काम गर्नसक्ने मानिस छैनन’’, उहाँले भन्नुभयो, ‘‘भत्केका घर मर्मत गर्नुछ, लिपपोत गर्नुछ । जसका लागि खर्चको समेत नागरिकलाई समस्या छ । सरकारले यहाँका नागरिकलाई उच्च स्थानमा घरबास दिनुपर्छ ।’’नेपालीहरु चाडपर्व मनाउने तयारीमा छन् । चाडपर्वको तयारी गरिरहेका बेला आएको बाढीले भजनीका नागरिकलाई ठूलो पीडा दिएको छ । भजनीकै सन्दिप रावल चाडपर्वका समयमा यहाँका नागरिकलाई राहत माग्नुपर्ने, शिर लुकाउन त्रिपाल माग्नुपर्ने अवस्था आएको बताउनु हुन्छ । ‘‘राहत क्षणिक समयका लागि हो, हामीलाई उच्च स्थानमा बास, नभए उच्च भवन बनाइदिएको भए हुन्थ्यो’’, उहाँ भन्नुहुन्छ, ‘‘बर्सेनि नदी बस्तीमा पस्ने समस्या छ । नदीमा ड्याम तथा तटबन्ध बनाइदिएको भए हुन्थ्यो ।’’
भजनी नगरपालिकाले बाढी पछिको क्षतिको विवरण लिन थालेको छ । नगरपालिकाले प्रभावित स्थानमै गएर लागत संकलन कार्य थालेको छ । ‘‘मानिसको घरमा हेर्दा केही बचेको छैन । वडा नं। ८ मा अनुगमन गर्दा यहाँ नागरिकको बिचल्ली छ । नागरिकको केही सम्पत्ति बचेको छैन’’, नगर प्रमुख केवल चौधरीले भन्नुभयो, ‘‘मानिसका घर बगे, घरमा भएका सबै सामान बगेर नष्ट भए । धान खेती पनि नष्ट भएको छ । हेर्दा बेहाल छ, नागरिकको अवस्था हेर्दा साह्ै मन दुख्छ ।’’
नगर प्रमखु चौधरीले अझैँ ३ हजार बढी परिवार घर फर्कने वातावरण नबनेको बताउनु भयो । ‘‘हामीले राहत वितरण का कार्य गरिरहेका छौँ,हजारौँ पीडित परिवारलाई पालिका मात्रले सहयोग गर्न सक्ने अवस्था छैन’’, उहाँ भन्नुहुन्छ, ‘‘आपतमा छौँ, सहयोगीलाई अपिल गरेका छौँ, संघसंस्थाले सघाउन थाल्नुभएको छ ।’’