भजनीमा बाटो ग्राभेल उपभोक्ता समितिका महिला तनावमा

गणेश क्षेत्री
टीकापुर, ८ भाद्र/भजनीमा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नु पर्ने भएपछि समस्यामा परेका छन् । भजनी नगरपालिका वडा नं। २ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन् ।
सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले ५ लाख ५० हजार रकम विनियोजन गरेको थियो । महिलाहरुले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट ३ लाख १ हजारमात्रै भुक्तानी पाए । बाटो बनाउँदा खर्च भएको एक लाख १५ हजार महिलाहरुले तिर्न बाँकी रहेपछि उनीहरु यतिखेर कसरी रकम तिर्ने भन्ने समस्यामा छन् ।
उपभोक्ता समितिमा स्थानीय ११ जना महिलामात्रै छन् । महिलाहरुले बाटो बनाउँदा टिूपरलाई मात्र रु। ३ लाख ९० हजार र जेसिवीलाई १२ हजार तिर्नुपर्ने रकम बाँकी छ । अन्य काम गर्दाको खर्चको हिसाव छैन ।
स्टीमेटअनुसार ६२० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर ४८५ मिटर ग्राभेल गरिएको नगरपालिकाले जनाएको छ ।
प्राविधिकले बनाएको स्टीमेट अनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रा धामी बताउनुहुन्छ । ‘हामीले भनेअनुसार काम ग¥यौँ, हामी सोझा मानिस हामीलाई अन्त्यमा दुःख भयो’, उहाँले भन्नुभयो, ‘पहिला त्यही नापेको थियो, ठीक छ यति ग्राभेल गर्नु भन्यो पछि कम भयो रकम घट्छ भनेर थोरै दियो । प्राविधिकले नापेर बनाउन भनेको जति बाटो बनाएका हौँ ।’


पालिकाले रकम कम भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसकेपछि महिलाहरु तनावमा छन् । महिलाहरुलाई रकम तिर्न ताकेता गर्दै टिूपर मालिकले कागज गराएर गाइभैसी उठाउने बताएपछि महिलाहरु अब रकम कसरी तिर्ने तनावमा छन् ।
बाटो ग्राभेलका लागि पालिकाले ५ लाख ५० हजार रकम विनियोजन गरेको थियो । स्टीमेट अनुसार काम नभएको भन्दै उपभोक्ता समितिलाई ३ लाख १ हजारमात्र रकम भुक्तानी दियो । अझैँ महिलाहरुसँग १ लाख १५ हजार उधारो तिर्न बाँकी छ । उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने वाध्यता आइलागेको बताउनुहुन्छ । ‘अब हामी कसरी रकम तिर्नु, घरमा गाली गर्छन्, समाजले काम गरेका छौँ भन्छ तर नगरपालिकाले हेप्यो’, उहाँले भन्नुभयो, ‘अब हामी निकै समस्यामा परेका छौँ ।’
महिलाहरुले ६२० मिटर नै ग्राभेल गरेको स्थानीय बताउँछन् । पालिकाले हिसाव गरेर ४८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताउनुभयो ।
ट्रिपर धनीले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असुल गर्ने ४५ दिनअघि कागज गरेको थियो । ४५ दिनमा रकम तिर्ने भनी जबरजस्ती गरिएको कागजको म्याद बुधबार सकिदैछ । ९० हजार तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणिमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बल बहादुर बुढालाई साक्षी राखिएको बुढा बताउनुहुन्छ ।
भजनी नगरपालिकाका सव इन्जिनियर भावना विष्टले कामअनुसारको पालिका बाट भुक्तानी भएको, नभएको काम को भुक्तानी दिन नसकिने बताउनुभयो ।

असार को महिनामा आयको योजना ले बर्सातमा काम गर्दा खाल्डा खुल्डि परेर ग्राबेल धेरै गएको र काम सकियको १ महिना पछि प्राबिधिक आएर नाप्दा फरक परेको उपभोक्ता बताउँछन् ।
विकास योजना सञ्चालन गर्दा उपभोक्ता समितिलाई ज्ञानको कमी हुँदा पनि यस्ता खाले समस्या आइपर्छन् । यसका साथै नगरपालिकाका प्राविधिकको लापरवाहीले पनि उपभोक्ता समितिमार्फत् हुने काममा यस्ता खाले समस्या बढ्छन् । त्यसैले विकासका कार्य सञ्चालन गर्दा पालिकाले नीति बनाएर काम गर्न आवश्यक छ ।