भोट नहाल्ने कांग्रेस

सम्पादकीय
नेपाली कांग्रेसले शुक्रवारबाट ‘जनताको साथमा नेपाली कांग्रेस ’ भन्ने कार्यक्रम लिएर जनता माझ आएको छ । मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको निर्बाचनको तयारीका लागि कांग्रेसले कार्यक्रम बनाएर केन्द्रिय सदस्यहरुलाई जिल्ला जिल्ला पठाएको छ । जिल्लामा खटिएका केन्दीय सदस्यहरुले पार्टीको अवस्था बुझ्नुका साथै आपसमा देखिएका मतभेदलाई समाधान गर्ने छन् । पार्टीमा देखिएको मतभेदलाई मिलाउने प्रयास भएपनि पार्टीको आन्तरिक चुनावमा भएको चरम गुटबन्दीले आपसमा तिक्तता छ । पार्टीको आन्तरिक निर्बाचनमा गुटको कुरा भएपनि आम चुनावमा पार्टीको उम्मेदवारलाई भोट नहाल्नु अपराध हो । पार्टीको सदस्यता लिने अनी निर्बाचनमा भोट नहाल्ने हो भने किन कांग्रेस हुँ भनिराख्ने रु कतिपयले कांग्रेसलाई भजाएर खाने बाटोको रुपमा मात्र लिएका छन् । पार्टीबाट पद प्रतिष्ठा लिने तर उम्मेदवारलाई भोट नहाल्नेहरु छन् । समाजमा बद्नाम भएका व्यक्तिहरुले नेपाली कंग्रेसको खोल त ओढेका छन् तर पार्टीलाई लाभ भन्दा पनि कसरी हानी नोक्सानी गर्न सकिन्छ भन्नेमा लागेको पाइन्छ । समाजमा बद्नाम भएकाहरुलाई पार्टीमा राखेर फाइदा हुँदैन । पछिल्लो समय कांग्रेसमा भोट नहाल्नेहरुको संख्या बढ्दै छ । पार्टीमा बढ्दै गएको अराजकताले आपसमा द्वन्द्व बढ्नु स्वभाबिकै हो । आम निर्बाचनमा आफ्नै पार्टीको बिरुद्ध लाग्ने र अर्को पार्टीबाट पैसा बुझ्ने गरेको बजारमा चर्चा छ । टीकापुरमा पछिल्लो समय पार्टीबाट लाभ लिएकाहरु नै पार्टीको बिरुद्धमा लागेको पाइन्छ । यिनीहरु कांग्रेसमा भोट नहाल्दा रमाउँछन् । कहिले काूही असन्तुष्टि हुनु स्वभाबिकै हो । प्रत्यक चुनाबमा पार्टीका बिरुद्ध भोट नहाल्ने अनी अघिपछि कांग्रेस हुँ भन्दै हिँड्नेहरुलाई कांग्रेस कार्यकर्ताले पनि मुल्यकंन गर्न जरुरी छ । पार्टीलाई आवश्यक परेका बेला पिठ्यू फर्काउने अघिपछि पार्टीको नाम भजाउनेहरुलाई पार्टीले तह लगाउन जरुरी छ । कम समयमा जसले सबै भन्दा पार्टीबाट लाभ लिएको छ त्यहि व्यक्तिको असन्तुष्टि देख्न पाइन्छ । केवल आफ्नो स्वार्थमा लागेका कारण पार्टीको कृयाशिल सदस्यतामा समेत व्यापक अनियमितता भएको छ । पार्टीलाई बलियो बनाउने सवालमा केही नबोल्ने अनी अराजकतामा रमाउनेहरुलाई हरेक कार्यकर्ताले चिन्न जरुरी छ । पार्टीको जिम्मेवार पदमा बसेका छन् तर पार्टीलाई कमजोर बनाउने कुरा गरिरहेका छन् । नैतिकता बेचेर गुजरा गर्नेहरुले सामाजिक नेतृत्व लिन सक्दैनन् । तसर्थ नेपाली कांग्रेसका इमान्दार र निष्ठावान कार्यकर्ता सचेत हुन जरुरी छ ।