सम्पादकीय
परिवर्तन नामको मात्र भयो कामको भएन । एउटा आउछ यस्तो गर्छु उस्तो गर्छु भन्छ केही दिनपछि त्यही हालत । सुधारका कुरा हैन केवल गफ मात्र हुने गरेका छन् । यसरी गफ गर्ने क्रम जारी छ तर आम नागरिकको जविन स्तर कठिन हुँदै गएको छ । नेपालको प्रशासन कमजोर मनोवल लिएर सेवामा लागेको छ । यस्तो कमजोर मनोवलले काम हुने कुरै भएन । रबी लामिछाने गृहमन्त्री भएपछि केही त हुन्छ भन्ने लागेको थियो । प्रहरी प्रशासन अव आफ्नै गतिमा हिड्छन् भन्ने थियो । प्रहरी प्रशासन कसैको दबाबमा नपरी काम गर्छन् भन्ने सबैलाई लागेको थियो । तर गृहमन्त्री रबी लामिछाने पनि बिबादमै फसेर होला प्रहरी प्रशासनको काम गर्ने शैलीमा फरक आएन । पुरानै रबैया प्रहरी प्रशासनमा छ । कमजोरलाई पक्राउ गरेर कानुनको कठघरामा ल्याउने काम हिजो पनि भएकै थियो । हिजो झंै सकेसम्म काम नगर्ने प्रबृत्ति अहिले पनि छ । टीकापुर नगरपालिका वार्ड नम्बर ८ श्रीलंकामा जग्गा नापी गर्न दिइएको छैन । जग्गा कसको हो भने छुट्याउने काम सरकारी कार्यालय नापीको हो । नापीले जग्गा नाप्न पाउदैन भने यो देशमा कानून कहाँ छ ? जग्गा नाप्नका लागि प्रहरीले सहयोग गर्नुपर्नेमा प्रहरी मुक दर्शक बन्यो । नापीले सुरक्षा मागेपछि प्रहरी निरिक्षकको नेतृत्वमा करिब ४० जना प्रहरी श्रीलंका जान्छन् केहीले अवरोध गरे भनेर प्रहरी लुरुलुरु फर्केर आउँछन् । यस्तो प्रहरीले नागरिकको सुरक्षा कसरी गर्छ ? के सजिलो अवस्थामा आम नागरिक लाई कानूनको डण्डा देखाएर तर्साउने काम मात्र हो प्रहरीको । प्रहरीले सुरक्षा दिने बिषयमा के सही के गलत हो भनेर छुट्याउन नसक्ने भएपछि कसरी न्याय हुन्छ ? जग्गा नाप्न नदिनु सरासर गलत हो । आपसमा जग्गाको सीमाकंन बिबाद भएपछि नापीले नापेपछि समस्या होला की नाप्न नदिएर । नाप्न नदिनेहरुको नियत प्रष्ट हुँदा पनि प्रहरीले जग्गा नाप्न अबरोध गर्नेहरुलाई कारबाही गर्दैन भने प्रहरीको अवस्था कस्तो होला ? तसर्थ नागरिकले आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था छ । प्रहरीले सुरक्षा र न्याय देला भनेर बस्नु भ्रम मात्र हो भन्ने यो घटनाबाट बुझ्न सकिन्छ ।