टीकापुर, ६ मंसिर/र्टीकापुर नगरपालिकामा ३ वर्ष मोसामाजिक परामर्श र उपचारमा सघाएको मनोसामाजिक सुस्वास्थ्य परियोजना पालिकालाई हस्तान्तरण गरिएको छ ।
शुक्रबार प्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य परियोजनाको सामाजिक परीक्षण तथा परियोजना हस्तान्तरण कार्यक्रम भएको हो ।
परियोजनाले ३ वर्ष पालिकामा काम गरेपछि मानसिक स्वास्थ्यका कार्यलाई पालिकाले निरन्तरता दिने अपेक्षा सहित पालिकालाई हस्तान्तरण गरेको हो ।
नगरप्रमुख रामलाल डगरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा सीएनसी नेपालका प्रदेश संयोजक हिमाल गैरेले नगरप्रमुख थारुलाई परियोजना हस्तान्तरण गर्नुभएको हो । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपाल र फेल्म नेपालको आर्थिक तथा प्राविधिक साझेदारीमा टीकापुर नगरपालिकामा मानसिक स्वास्थ्य परामर्श र उपचार सेवा दिइएको थियो ।

पालिकाका दुई स्वास्थ्य संस्था नारायणपुर स्वास्थ्य चौकी र विजयनगर शहरी स्वास्थ्य केन्द्र बाट मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई उपचार सेवा दिइन्छ । संस्थाले स्वास्थ्यकर्मीलाई तालिम समेत उपलब्ध गराएको थियो । यसका साथै मनोसमस्या भएका तथा आप्रवासी परिवारका सदस्यलाई मानसिक स्वास्थ्य सेवा र जिविकोपार्जनका क्षेत्रमा सघाएको छ ।
परियोजनाका प्रदेश संयोजक हिमाल गैरेले परियोजनाले काम गर्दा मानसिक स्वास्थ्यका बारेमा नागरिक खुलेर कुरा गर्न थालेका, मानसिक स्वास्थ्य रणनीतिक योजना बनाएर नगरपालिकाले पनि काम थालेको बताउनुभयो । नगरपालिकामा १५० जना मानसिक स्वास्थ्यका बिरामीहरूले उपचार सेवा लिएको बताउनुभयो ।
उहाँले विद्यालय क्षेत्रमा मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम, आत्महत्या रोकथाम बारे नियमित छलफल कार्यक्रमहरू प्रभावकारी देखिएकाले यसलाई पालिकाले अनुशरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक परीक्षक त्रिभुवन बिसीले परियोजनाले कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र घोडाघोडी नगरपालिकामा काम गरेको र यी पालिकाहरूमा स्थानीय सरकारले पनि सहकार्य गरेर अपनत्व लिएको बताउनु भयो ।
विजयनगर सहरी स्वास्थ्यकेन्द्र का स्वास्थ्यकर्मी उषा भुसालले आफूले छ महिनाको तालिमपछि मनोपरामर्श र औषधि दुवै चलाउने गरेको, अहिले मानसिक स्वास्थ्यका बिरामी बढेका बताउनुभयो । मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूलाई मनोपरामर्शद्वारा निको गर्न सकिन्छ भन्ने आफ्नो अनुभवबाट सिकेको उहाँको भनाइ छ ।
आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले स्वास्थ्यसँग आर्थिक, सामाजिक, मानसिक सबै क्षेत्र जोडिने भएकाले मानसिक स्वास्थ्य लाई आयआर्जनसँग जोड्न सकेमा मानसिक स्वास्थ्य समस्या न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।
नारायणपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी महेश कुमार श्रीवास्तवले आफूले एक वर्षअघि तालिम लिएर मानसिक स्वास्थ्य मा औषधि उपचारको क्षेत्रमा काम गरिरहेको बताउँदै बिरामीको खोजीमा भने समस्या रहेको बताउनुभयो । अहिलेको अवस्था मा पनि मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूले आफूलाई मानसिक समस्या छ भनेर स्वीकार्न नचाहेकाले, बिरामी पत्ता लगाउन र उपचारमा पुगाउन बढी ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रम स्वास्थ्य शाखा संयोजक बलबहादुर रावले सञ्चालन गर्नुभएको थियो । रावलले मानसिक स्वास्थ्यमा गत वर्ष ५० हजार बजेट रहेको, यस वर्ष बजेट अभाव रहेकाले जनप्रतिनिधिलाई बजेटको व्यवस्था गरिदिन र मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिन अनुरोध गर्नुभयो ।
सामाजिक विकास समितिका संयोजक लालवीर चौधरीले स्वास्थ्यकर्मीलाई नै दक्ष बनाएर मानसिक स्वास्थ्य सेवा हरेक स्वास्थ्य संस्थाबाट दिनतिर पालिकाले ध्यान दिनुपर्ने र यसबारे छलफल भइरहेको बताउनुभयो ।
नगर प्रमुख रामलाल डगौरा थारुले मानसिक स्वास्थ्यका क्षेत्र मा काम गरेकोमा परियोजनालाई धन्यवाद दिँदै, मानसिक स्वास्थ्य समस्या गम्भीर रूपमा देखिएकाले आवश्यकतालाई मध्यनजर गर्दै पालिकाले काम गर्ने बताउनुभयो ।