महिनावारी व्यवस्थापन र पुरुष सहभागीता विषयक वक्तृत्वकला प्रतियोगितामा कर्णाली माविकी कृष्टिना पोखरेल प्रथम

टीकापुर, १९ जेठ/महिनावारी व्यवस्थापन र पुरुष सहभागीता विषयक वक्तृत्वकला प्रतियोगिता टीकापुरमा भएको छ । प्रतियोगिता मा ६ विद्यालयका बालिका सहभागी थिए । कार्यक्रम टीकापुर अस्पतालको आयोजना तथा टीकापुर नगरपालिकाको सहयोग मा भएको हो ।
प्रतियोगितामा कर्णाली मावि टीकापुरकी कृष्टिना पोखरेल प्रथम, जनता राष्ट्रिय मावि सोनाहाफाटाकी आकृति रावल द्वितीय, कर्णाली मावि सत्तीका समिक्षा भण्डारी तृतीय र न्यू लाइट एजुकेसन होमकी ओजश्वी भट्ट सान्तवना भएका छन् । विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले महिनावारीका नाममा समाजमा अपनाइएका गलत अभ्यास चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक घरमा महिनावारी भएका महिलालाई सघाउने, सहज वातावरण बनाइदिने कार्यमा पुरुषको साथ आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा अस्पतालका मेसु हाड जोर्नी रोग बिशेषज्ञ डाक्टर रेमकुमार राईले महिनावारी स्वच्छता महिलाको स्वास्थ्य, प्रजननसँग जोडिएको कुरा भएकाले स्वास्थ्य र सचेतनामा अस्पतालले समुदायसँग सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रमका निणार्यक संयोजक ललिता शाहीले महिनावारी व्यवस्थापन महिलाको मात्र सवाल नभएकाले बिस्तारै पुरुषको समेत साथ बढ्दै गएकाले थप बढाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागीलाई स्यानीटर प्याड बितरण गरिएको छ ।
प्याड वितरण गर्दै बरिष्ठ नर्सिङ निरीक्षक कल्पना खड्काले कार्यक्रममा सहभागी पुरुषलाई दिइएको प्याड घरका महिलालाई गिफ्ट गर्न आग्रह गर्नुभयो । प्याड किन्ने, आवश्यक पोषिलो खाने कुरा जुटाइदिने, घरायसी काममा सघाउन पुरुष तयार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम कर्णाली माविका शिक्षक हरिश अवस्थीले सञ्चालन गर्नुभएको थियोे ।