महिनावारी स्वच्छताबारे किशोरी सचेत बन्दै

टीकापुर,१० फागुन/कैलालीको कर्णाली मावि टीकापुरमा कक्षा १० मा अध्ययनरत मनिषा जनाला महिनावारीको समयमा ध्यान दिनुपर्ने कुरामा निकै सचेत हुनुहुन्छ । मनिषा आफ्नो स्वास्थ्य र सरसफाइमा ध्यान दिनुहुन्छ ।मनिषालाई महिनावारीको सफा प्याड प्रयोग गर्ने, पोषणयुक्त खानेकुरा खाने, अन्य समयभन्दा बढी आराम गर्नुपर्छ भन्ने राम्ररी थाह छ । ‘‘म सरसफाइ र खानपानमा विशेष ध्यान दिन्छु, परिवारले पनि अन्य बेलाभन्दा पोषिलो खाना बनाइदिन्छन्’’, उहाँले भन्नुभयो, ‘‘महिनावारी भएका बेला दही, दूध तथा माछामासु बढी खान दिने गर्नुभएको छ ।’’
त्यस्तै स्वस्तीका अर्याल पनि महिनावारीको समयमा अन्य बेलाभन्दा बढी स्याहार गर्नुका साथै आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहुन्छ । ‘‘महिनावारीको समयमा सरसफाइका लागि बढी पानी चाहिन्छ, यो बेला तातो तथा झोलिलो खानेकुरा खाने गर्छु’’, उहाँले भन्नुभयो, ‘‘म त मेरो छिमेकमा रहेका अन्य साथीहरुलाई पनि सरसफाई तथा खानपानबारे सचेत गराउने काम गर्छु ।’’


किशोरीहरुलाई महिनावारीका समयमा खानपान र सरसफाईमा सहज नभए अध्ययनमा असर गर्छ । सोही विद्यालयकी छात्रा चम्फा विक महिनावारीको समयमा अन्य समयभन्दा बढी पोषिलो खानेकुरा खानुहुन्छ । ‘‘महिनावारीमा छुवाछुत गरेमा र स्याहार नभएमा सजिलो तरिकाले विद्यालय जान, घरमा पढ्न पनि अप्ठ्यारो हुन्छ’’, चम्फाले भन्नुभयो, ‘‘तर म यी सबै कुरामा ध्यान दिन्छु । आफ्नो शरीरको स्याहार आफैँले गर्नुपर्छ भन्ने बुझेकी छु ।’’
महिनावारी स्वच्छता र किशोरीको स्वास्थ्यका लागि कैलालीका सामुदायिक विद्यालयमा किशोरीका लागि आवश्यक स्यानिटरी प्याड निशुल्क पाइने गरेको छ । जसले किशोरीले फोहोर लुगाफाटा प्रयोग गर्ने क्रम बन्द भएको छ । किशोरीहरु अनिवार्य स्यानिटरी प्याड प्रयोग गर्न थालेका छन् ।
शिक्षिका तारा साउँद शुरुशुरुमा स्थानीय सरकारले निशुल्क स्यानिटरी प्याड दिएपछि किशोरीलाई उपलब्ध गराउँदा प्याड प्रयोगमा समस्या भएको सम्झनुहुन्छ । ‘‘हामीले सबै किशोरीलाई प्याड उपलब्ध गरायौँ, किशोरीले प्याड प्रयोग गर्न जानेका रहनेछन् । प्रयोग गरेका प्याड व्यवस्थापनमा पनि समस्या भयो’’, शिक्षिका साउँद भन्नुहुन्छ, ‘‘पछि हामीले प्याड प्रयोग र डिस्पोट गर्ने तरिका सिकायौँ, यो कार्य अहिले पनि चलिरहेको छ ।’’


यहाँका सामुदायिक विद्यालयमा किशोरकिशोरीमैत्री स्वास्थ्य कार्यक्रम समेत सञ्चालन छन् । विद्यालयमा किशोरीहरुलाई निशुल्क प्याड दिनुका साथै उनीहरुलाई जनचेतना फैलाउने, उनीहरुका अन्य समस्याबारे पनि छलफल गर्ने गरिएको शिक्षिका माया पोखरेलले बताउनुभयो । ‘‘सातामा दुई दिन उनीहरुका समस्याबारे छलफल हुन्छ, छलफलमा बढी महिनावारीमा देखिने समस्याका कुरा हुन्छन्’’, पोखरेलले भन्नुभयो, ‘‘महिनावारी महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको कुरा भएकाले बिशेष महत्वका साथ छलफल गर्छौँ ।’’
पछिल्लो समय स्थानीय सरकारसँगै विभिन्न संघसंस्थाले पनि महिनावारी स्वच्छताका लागि किशोरीलाई सचेत गराउने कार्य गर्न थालेका छन् । कैलालीमा निर्माणाधिन अवस्थामा रहेको टीकापुर सतही ढल तथा मानव मलमुत्रीय फोहर व्यवस्थापन आयोजनाले यहाँका सामुदायिक विद्यालयका किशोरीलाई महिनावारी स्वच्छताबारे तालिम समेत दिएकोे छ । कार्यक्रम कर्णाली मावि टीकापुर र सस्वती मावि बनगाउँमा भएको थियो । कार्यक्रम क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्ज बाँके र डिजाइन सुपरीवेक्षण तथा व्यवस्थापन परामर्शदाता ईटेको युनेक जे.भी.को आयोजनामा भएको हो ।


टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काविगतलाई हेर्दा अहिलेका किशोरीहरु महिनावारीको समयमा सफा प्याड लगाउनुपर्ने, भित्री लुगा राम्ररी धुनुपर्छ, घाममा सुकाउनुपर्छ भन्नेमा सचेत बन्दै गएका बताउनुहुन्छ । ‘‘महिनावारी हुनु महिला सन्तान उत्पादनका लागि सक्षम हुनु हो । महिनावारीको समयमा सरसफाईमा ध्यान दिने, खानपानमा ध्यान दिनुका साथै परिवारका सदस्यले पनि उनीहरुको सरसफाई, पोषणयुक्त खाना र आरामका लागि सहज वातावरण तयार गरिदिनुपर्छ’’, खड्का भन्नुहुन्छ, ‘‘महिनावारीको समयमा सरसफाईमा ध्यान नदिदा स्वास्थ्य जोखिममा पर्छ । यौनाङ्गमा संक्रमण हुने, पिसावनलीमा समस्या हुनु, पछि गएर पाढेघरको क्यान्सर हुनसक्ने जोखिम रहन्छ ।’’
विद्यायका प्रधानाध्यापक धर्मराज शर्माले किशोरीहरुलाई महिनावारीको बेलामा गरिने सरसफाईबारे अन्य किशोरी र समुदायका किशोरी तथा महिलाहरुलाई समेत सिकाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सामाजिक विज्ञ राजेन्द्र श्रेष्ठले महिनावारीका समयमा सरसफाईका लागि पानी र सहज वातावरण आवश्यक पर्ने बताउँदै यसले शैक्षिक विकासमा समेत प्रभाव पार्ने बताउनुभयो । सरस्वती मावि बनगाउँका प्रधानाध्यापक खगेन्द्र घर्तीमगरले किशोरीहरुलाई स्वास्थ्य सचेतनाका लागि कार्यक्रम गर्नुभएकोमा धन्यवाद दिनुभयो ।