महिला जागरण सहकारीको अध्यक्षमा राधा रावल

टीकापुर, ३० कात्तिक/महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था टीकापुरको नयाँ नेतृत्व चयन भएको छ । सहकारीको साधारण सभाले अध्यक्षमा राधा रावललाई निर्विरोध चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा कलादेवी कार्की विष्ट, सचिवमा रेश्मा उपाध्याय, कोषाध्यक्षमा सरस्वती ज्ञवाली चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा सुनिता अधिकारी ओझा, पद्मीनी थापा, लक्ष्मी कुँवर, भागीरथी बम, शुशिला विक, निर्मला चौधरी र प्रतिभा आचार्य चयन हुनुभएको छ ।
सहकारीक संस्था लिमिटेड टीकापुरको सत्रौँ वार्षिक तथा चुनावी साधारण सभाले मल बिक्रीको संयोजकमा रिता मल्ल र तोरी तेल मिल संयोजकमा ज्ञानु साउँदलाई चयन गरेको छ ।
सहकारीका अध्यक्ष शोभा शर्मा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष ललिता शाही प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष शाहीले सहकारीको विकासका लागि नेपालकै उत्कृष्ट सहकारी संस्था बनाउने अभियानमा सबै महिलालाई लाग्न आग्रह गर्नुभयो । उहाँले सहकारीले राष्ट्रको आर्थिक उन्नतिमा सहयोग गर्ने भएकाले सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रन्जु आचार्यले कानूनहरु कडा भएकाले सहकारी सञ्चालन गर्दा कानूनको परिपालना गर्न सुझाव दिनुभयो । आचार्यले सहकारीमा अवसर प्रशस्त भएको बताउँदै धेरै महिला समेटिएको महिला जागरणमा सम्भावना समेत धेरै भएकाले कार्यक्षेत्र र व्यवसायिक योजना स्पष्ट पारेर काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा समाजसेवी केशरी विष्टले सहकारी संस्थाहरु डुबिरहेका बेला महिला जागरण ले नमूनाका रुपमा काम गरिरहेको बताउनुभयो ।
वि.सं.२०६५ सालमा स्थापना भएको सहकारीका शेयर सदस्य १ हजार १५३ महिला रहेका छन् । सहकारीले २ करोड ५८ लाख ५३ हजार निक्षेप बचत गरेको छ । सहकारीले आर्थिक वर्ष २०८१\०८२ मा ५ लाख ९८ हजार ९२५ रुपैयाँ नाफा कमाएकोे छ । सहकारीले तोरीको तेल पेल्ने मिल सञ्चालन गरी शुद्ध तोरीको तेल उपलब्ध गराउँदै आएको छ ।  यसका साथै किसानलाई सहुलीयत दरमा मल बिक्री समेत गर्ने गरेको छ । सहकारीले शेयर सदस्यलाई मुनाफा समेत वितरण गर्ने गरेको छ ।
सहकारीका उपाध्यक्ष राधा रावलले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सचिव कला विष्टले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष ज्ञवालीले महिलालाई आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम र विभिन्न प्रयासहरु भएको जानकारी दिनुभयो कार्यक्रममा सहकारीका सल्लाहकार विष्णुदेवी रावल, संस्थापक सदस्य पद्मिनी थापा, निर्वाचन अधिकृत गणेश ओझा, पत्रकार दुर्गा देवकोटा, समाजसेवी रुक्मिणी शर्मा, लगायतले बोल्नु भएको थियो ।
 कार्यक्रममा कोषाध्यक्ष रेश्मा भट्ट आयव्यय र आर्थिक समितिका संयोजक लक्ष्मी बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
 कार्यक्रममा पूर्व अध्यक्ष कलावती स्वाँर, जेष्ठ नागरिक कोकिलादेवी कठायत सहित विभिन्न व्यक्तिहरु लाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा असल ऋणी तर्फ पशुपति भण्डारी, शकुन्तला सज्ञ्याल, बसन्ती बिक, कमला रावत रहनुभएको छ । त्यसैगरी असल बचतकर्ता नन्नमति देवी बटाला, पार्वती गिरी, सविता थारु, प्रेमदेवी चौधरी सम्मानित हुनुभएको छ ।