टीकापुर, २४ पौष/टीकापुर महोत्सव २०८१ शुरु हुन अब एक दिनमात्र बाँकी रहेको छ । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भोलीदेखि शुरु हुने महोत्सवको स्टेज निर्माण लगायतका कार्य अन्तिम चरणमा पुगेका छन् । महोत्सव तयारीका क्रममा दुबै तर्फका गेट निर्माण लगायतका कार्य सकिएका छन् ।

‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवम् पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव पुस २५ गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने छ ।
वाणिज्य संघले टीकापुरको आर्थिक गतिविधि बढाउने उद्देश्य ले हरेक वर्ष महोत्सव गर्दै आएको छ । टीकापुरका मुख्य पर्यटकीय क्षेत्रको प्रचार र सम्भावनाको खोजी गर्न महोत्सव गर्ने गरिएको आयोजकको भनाइ छ । महोत्सव मा यस वर्ष ३ करोड कारोबार गर्ने लक्ष्य रहेको र यस वर्ष स्थानीय ब्यापारीका समेत उत्साहजनक सहभागिता रहेको वाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक सन्तोष खड्का बताउनु हुन्छ ।
‘‘टीकापुरमा ब्यापारीक, आर्थिक गतिविधि बढोस् भन्ने हो, महोत्सव भनेको हामी ब्यापारी का लागि ठूलो पर्व हो’’, उहाँले भन्नुभयो, ‘‘यस वर्ष हामीले विगत भन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरेका छौँ ।’’
महोत्सवमा यस वर्ष ४० वढी राष्ट्रिय कलाकार र त्यत्तिकै संख्या मा स्थानीय कलाकारको प्रस्तुती रहनेछ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारलाई विशेष अवसर दिइने बताइएको छ ।

वाणिज्य संघले महोत्सवका माध्यमबाट कलाकारले आफ्नो क्षमता देखाउने अवसर पाउने भएकाले विद्यालय स्तरीय प्रतियोगितामा बर्दियाको राजापुर क्षेत्र र कैलालीको बौनियासम्मका विद्यालयले नाम दर्ता गराएका वाणिज्य संघका सचिव तथा सांस्कृतिक समितिका संयोजक तपेन्द्र कुँवरले बताउनुभयो ।
यस पटक काठमाण्डौबाट आउने अतिथि तथा कलाकारलाई वाणिज्य संघले टीकापुर हवाइ मैदानकै प्रयोग गरी ल्याउने जनाएको छ । विगतमा नेपालगञ्ज तथा धनगढी भएर आउँदा खर्च समेत बढ्ने गरेको थियो । यसपटक अतिथि तथा कलाकारलाई समेत टीकापुर आउन सहज हुने वाणिज्य संघका उपाध्यक्ष कृष्ण बजगाईले बताउनु भयो ।
महोत्सवमा विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइनेछ भने महोत्सव अवलोकनमा एकल महिला, जेष्ठ नागरिक तथा अपांगता भएकाहरुले निशुल्क प्रवेश गर्न पाउनेछन् ।
महोत्सवमा थारु गाउँ, विगतका वर्षझैँ कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी समेत राखिने भएको छ । वाणिज्य संघको आयोजनामा वि।सं। २०६५ सालदेखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।