माघ २२ गतेबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई खोप लगाइदै,टीकापुरमा ५ हजार बढी किशोरीले खोप लगाउने

टीकापुर, १७ माघ/सरकारले आगामी माघ २२ गतेदेखि देशभरका १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर ग राउने भाइरसविरुद्धको खोप दिँदै छ । राष्ट्रव्यापी अभियान सञ्चालन गरेर ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप दिन लागिएको हो ।
कक्षा ६ देखि १० कक्षा सम्मका किशोरीलाई विद्यालयमा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई फागुन ६ गतेसम्म खोप दिइनेछ । कैलालीमा ५६ हजार किशोरीलाई खोप लगाइने लक्ष्य लिइएको छ । टीकापुरमा ५ हजार ४ सय किशोरीलाई खोप लगाइने भएको छ ।
टीकापुरका ४४ स्थानमा खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियानमा ४८ जना स्वास्थ्यकर्मी र १२० जना महिला स्वास्थ्य स्वयम सेविका परिचालन गरिने टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले बताउनुभयो । उहाँले टीकापुरमा २२ गतेदेखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने बताउनुभयो ।


राष्ट्रिय खोप कार्यक्रम एचपीभी खोप अभियान २०८१ अन्तर्गत बुधबार वडा नं. १  मा वडा स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण समेत भएको छ ।
वडाध्यक्ष मोहन विकको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य निरिक्षक धर्मसिह बटाला र ज्योतिनगर स्वास्थ्य प्रवर्दन केन्द्रका इञ्चार्ज तथा जनस्वास्थ्य निरीक्षक मिलन विष्टले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडाध्यक्ष विकले टीकापुरमा मात्र क्यान्सर र मृगौलाका बिरामी २ सय बढी रहेका बताउँदै त्यसमा ५० प्रतिशत बिरामी क्यान्सरका र त्यसमा पाठेघरको मुखको क्यान्सर भएका महिला बढी भएका बताउनुभयो ।
उहाँले खोप लगाएमा महिला लाई हुने पाठेघरको क्यान्सर न्यूनिकरणमा सहयोग पुग्ने भएकाले सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
जनस्वास्थ्य निरीक्षक मिलन विष्टले वडा नं .१ मा मात्रै १९ खोप केन्द्रमा ३२ सय किशोरीलाई खोप लगाइने भएकाले सबै किशोरीलाई खोप लगाउन सघाउन अनुरोध गर्नुभयो । जनस्वास्थ्य निरीक्षक धर्मसिँह बटालाले टीकापुरमा माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएकाले खोप लगाउन प्रचारप्रसार तथा सचेतनाका काम भइरहेका बताउनुभयो ।
समाजसेवी टीकाराम रेग्मीले क्यान्सर भयाभह रुपमा देखिदै आएकाले खोप अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो ।
समाजसेवी चन्द्रावती शर्माले पाठेघरको मुखको क्यान्सर महिला को मृत्युको कारण बन्दै गएकाले विद्यालयमा मात्र नभइ समुदायमा रहेका सबै किशोरीलाइ खोप लगाउन आग्रह गर्नुभयो ।
वडा सदस्य प्रेमकला चौधरी र चरणदेवी विक पनि लक्षित उमेरका सबै किशोरीलाई खोप लगाउन अनुरोध गर्नुहुन्छ ।