मुक्त कमैयाको व्यबस्था गर

सम्पादकीय
टीकापुरमा बर्षाै देखि बसोबास गर्दै आएका मुक्त कमैयाको बास व्यबस्थापन गर्न जरुरी छ । टीकापुर बहुमुखी क्याम्पसको जग्गामा बसोबास गर्दै आएका मुक्त कमैयाहरु आफ्नो बासको व्यबस्था राजनीतिक दल र जनप्रतिनीधिले गर्छन् भन्ने आशै आशामा बर्षाै कटाए । अर्काको घरमा कमैया बसेकाहरुलाई सरकारले मुक्त त ग¥यो तर बासको व्यबस्थापन गरेको छैन । बर्षाै देखि एउटै समस्या थाती राखेर नागरिकलाई दलको झोला बोकाउने काम भइरहेको छ । टीकापुर नगरपालिकामा दोस्रो पटक जनप्रतिनीधि आए तर मुक्त कमैयाका बारेमा केही काम भएन । टीकापुरमा करिब ७० जना रातो र हरियो कार्ड भएका मुक्त कमैया छन् । ७० जनाको व्यबस्थापन गर्न खासै गाहे छैन । वास्तविक मुक्त कमैयाको बास व्यबस्थापन गर्दा समस्या हुँदैन । मुक्त कमैयाको काम गर्न खोज्दा क्याम्पसको जग्गामा बसेका सबैको समस्या एकै पटक हुनुपर्छ भन्ने सोच गलत हो । वास्तविक भूमिहिन र सुकुमबासीको पहिचान गर्न नगरपालिकाले चासो दिएको छैन । वास्तविक पीडितको पहिचान गरेर समस्या समाधान गर्ने हो भने सजिलो छ । नगरपालिकाले बसाई सराई दिएर आफै समस्या निम्ताएको हो । क्याम्पसको जग्गामा बस्ने गरी बसाई सराई दिने कर्मचारी या जनप्रतिनीधिलाई पनि कारबाही गर्नुपर्छ । जथाभावी बसाई सराई दिनु पनि भ्रष्टाचार हो । जे गरेपनि हुन्छ भन्ने मानसिकताले काम गर्दा बर्षाै देखि नागरिकले दुख पाउनु परेको छ । कतिपयले ज्यान गुमाएका छन् । भ्रदगोल गर्दा वास्तविक मुक्त कमैया, सुकुमबासी र भूमिहिनको समस्या ज्यूका त्यू छन् । वास्तविक पीडितको पहिचान गर्ने काम नगरपालिकाको हो । केवल झुलाउने काम भइरहेको छ । अघिल्लो कार्यकालमा नेपाली कांग्रेसले वास्तविक मुक्त कमैयाको वास व्यबस्थापन गर्न ज्ञापन पत्र बुझाएको हो । अहिले पनि पटक पटक मुक्त कमैयाका कुरा पीडा बाहिर आउने गरेका छन् । तसर्थ मुक्त कमैयाको समस्या समाधान तुरुन्त गर्नु पर्छ । मानवता पनि देखाउन जरुरी छ । यस क्षेत्रका राजनीतिक दलहरु पनि गम्भिर हुन जरुरी छ ।