मुलुकलाई निकास गणतन्त्रवादीले दिनुपर्छ

सम्पादकीय
नेपाली जनता गणतन्त्रवादी नेताहरुलाई बिश्वास गरेर आन्दोलनमा होमिएका हुन् । जनताको साथ पाएपछि गणतन्त्र आएको कुरा बिर्सन हुँदैन । नेताहरुले देश र नागरिकका बारेमा काम गर्लान भनेर हरेक आन्दोलनमा सहभागिता जनाए । जनताको ठूलो माग केही छैन देश राम्रोसंग चलाउ भन्ने मात्र हो । देश राम्रोसंग चलाउ भन्ने सोच जनताको हो । यतिखेर राजावादीहरुको आन्दोलनले मुलुक के हुने हो भन्ने आम चासो छ । पटक पटक आन्दोलन हुने तर जनताका पक्षमा काम नहुने भएपछि देश संकटमा फस्दै गएको छ । देश संकटमा फस्दै जाँदा पनि नेताहरुले आफ्नो बारेमा समिक्षा गरेको पाइदैन । नेताहरुले समिक्षा गरेर देशलाई कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा छलफल गर्न जरुरी छ । संबिधानमा लेखिएका आधारभुत कुरा पनि जनताले नपाएको आक्रोस छ भने त्यही आक्रोसलाई राजावादीहरुले मौकाको रुपमा लिएका छन् । राजावादीले मौका छोपेको हुन      सक्छ । मौका छोपे भन्दैमा मुलुक अहिलेको अवस्थामा पुग्न राजावादीको भूमिका छैन । राजावादीले उठाएका प्रश्न जनताका मुद्धा हुन् । मुद्धा जसले उठाएपनि नागरिकका पक्षमा छन् या छैनन् भन्ने कुरा मुख्य कुरा हो । गणतन्त्र ल्याउदा एक भएका राजनीतिक दल यतिखेर अलग अलग देखिन्छन् । सत्ताका लागि मरिहत्ते गरेको नागरिकले महशुस गरेका छन् । नागरिकका सवालमा राजनीतिक दल एक भएको भए मुलुकले निकास पाउने थियो । हरेक दलमा बिचौलीया हावी हुँदा जनताको पक्षमा काम भएको पाइदैन । जनताको पक्षमा काम नभएपछि देशमा समस्या थपिदै गएको हो । समस्या मात्र थपिएन बर्षेनी आन्तरिक र बाह्य ऋण थपिदै गएको छ । ८ बर्ष अघि ६ खर्ब भएको ऋण अहिले २७ खर्बको हाराहारीमा पुगेको छ । यत्रो ऋण बढाएर मुलुकले के पायो ? कहाँ गयो यत्रो पैसा । हरेक क्षेत्रमा कमिसन हाबी हुँदै जाँदा केही निश्चित नेताहरु अर्बपति भए जनता गरिब हुँदै गए । गणतन्त्र आएपछि समस्याका चाङ लाग्दै गएको कुरा त सत्य हो नी । सत्य हो भने सुधार्ने प्रयास हुनुपर्दैन ? सुधार्ने काम भनेकै जनताले पत्याएका नेताहरुले हो । जनताले राजावादी लाई पत्याएको भए एउटा कुरा हो । अहिले साशन गरिरहेका राजनीतिक दलका नेताहरुलाई जनताले बिश्वास गरेका हुन् । तसर्थ राजनीतिक दलले मुलुकलाई अस्थिर हुनबाट जोगाउन जरुरी छ । सडकमा उठेका जवाफ दिने र सुधार्ने नियतका साथ बर्तमान राजनीतिक दलले काम गर्न जरुरी छ । राजनीतिक दलका नेताहरु कर्तव्यबाट पन्छन मिल्दैन ।