सम्पादकीय
२०४६ को परिवर्तन पछि का केही बर्षसम्म युवाहरुमा अनुशासन थियो । नेतृत्वले वाल पेण्टिङ देखि विकासका सवालमा प्रयोग गथ्र्याे । बिद्यार्थीले आफ्ना बिचार प्रष्ट राख्थे । त्यहि भएर केही बर्ष एमाले र कांग्रेसमा खारिएका युवाहरु उत्पादन भए । केही अपवाद बाहेक त्यतिबेलाका युवाहरु अहिले धेरै जनप्रतिनीधि भएका छन् । यसरी समाजमा नेतृत्व उत्पादन हुने भनेको बिद्यार्थीबाट हो । बिद्यार्थी कालबाट सिक्दै आएर सामाजिक नेतृत्व गर्नेहरुमा एउटा राजनीतिक संस्कार पाइन्छ भने पछि आएका युवाहरुमा फलटिपुवा संस्कार पाइन्छ । यसरी संघर्षबाट आएको नेतृत्व र कृपा अनी छलछामबाट आएको नेतृत्वको गुर्णमा धेरै फरक हुन्छ । पछिल्लो समय युवाहरु केवल चाकडी गरेर अवसर खाने सजिलो उपायमा लागेका छन् । नेतृत्वलाई रिझाएर व्यक्तिगत लाभ लिन मनसायले बिद्यार्थीको नेतृत्व गर्नेहरुले पार्टीमा लगानी गरेका नेताहरुको अपमान गर्ने गरेका छन् । नेतृत्वको चाकडी गर्ने अवसरवादी युवाहरुले पार्टीमा लगानी गरेका नेताहरुको हुर्मत लिने संस्कार बसालेका छन् । बिद्यार्थीका समस्याका बारेमा बोल्दैनन् । क्याम्पसमा देखिएका समस्या भन्दा आफ्ना र आफ्ना झुण्डको समस्या र अवसरलाई बिद्यार्थी नेतृत्वले प्राथमिकता राखेको पाइन्छ । गणतन्त्र आएपछि बिद्यार्थी नेताहरुको अराजकता बढ्दै गयो । बिद्यार्थी नेता हुने गुरुको अपमान गरेर आफुलाई महान ठान्ने संस्कार विकास भएको छ । स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचन २०६५ सालमा भएको हो । २ बर्षे कार्यकालका भएको निर्बाचन यतिका बर्षसम्म नहुँदा पनि बिद्यार्थीका नेताहरु चुपचाप छन् । त्रिबिले निर्बाचन गराउँन लाग्दा बबण्डर मच्चाउने गरेका छन् । यसरी प्रशिक्षित नेतृत्वले देशको नेतृत्व पाए कस्तो काम गर्लान सहजै अनुमान गर्न सकिन्छ । राजनीतिक दलका नेताहरुले बिद्यार्थीको नेतृत्व छनौट गर्दा बौद्धिक तहको छनौट गर्न जरुरी छ । ढुंगा हान्ने र हुलदंगा गर्न सक्ने मापदण्ड बनाएर बिद्यार्थीको नेतृत्व दिंदै जाने हो भने देशको राजनीति बिकृत हुनु स्वभाबिकै हो । तसर्थ राजनीतिक दलका नेताहरु गम्भिर हुन जरुरी छ । समाज र देशको नेतृत्व लिने युवाहरु अनुशासनमा बसेको हुनुपर्छ । शिक्षा बुझेको र पढ्नमा रुचि भएको व्यक्तिलाई बिद्यार्थीको नेतृत्व दिने संस्कार बसाउने हो भने मात्र देशमा असल राजनीतिज्ञ उत्पादन हुन्छन् । असल राजनीतिज्ञले मात्र देशलाई सहि बटोमा लग्न सक्छन् । यसमा सबै सचेत हुन जरुरी छ ।