सम्पादकीय
राजनीतिक दलका नेताहरु अर्काको अस्तित्व स्विकार्न तयार छैनन् त्यसैले आपसमा द्वन्द बढाउने काम गरिरहेका छन् । आपसमा अबिश्वासको वातावरण बनाएका छन् । भ्रष्टाचारमा सबैको स्वर एउटै छ । भ्रष्टाचार एउटै स्वर हुने तर आम नागरिकको जनजीविकालाई कसरी सहज बनाउने भन्ने बारेमा एकमत हुँदैनन् । नेपालको राजनीतिमा अर्काको अस्तित्व स्विकार नगर्दा मुलुक द्वन्दबाट बाहिर आउन सकेको छैन । देखिदा शान्ति छ तर आन्तरिक ठूलो द्वन्द छ । एक अर्काको अस्तित्व स्विकार गरेर काम गर्नुको साटो पूर्बाग्रह राखेर काम गर्ने प्रचलनले मुलुक दिनप्रतिदिन संकटमा पर्दै गएको छ । सत्तामा बसेपछि सबै राम्रो देख्ने र कसैले कमजोरी औल्यायो भने दुश्मन ठान्ने प्रबृत्ति छ । ठिक यही कुरा अर्काे पार्टी सत्तामा गएपछि उसले पनि त्यही रबैया देखाउने गरेको छ । राजनीतिक दलका नेताहरु चरम स्वार्थी भए । देश लुट्ने बेला या आफुलाई समस्या पर्ने अवस्था आए एकैछिनमा अंगालो मार्ने गरेको देखिन्छ । यही हालत स्थानीय स्तरमा पनि देख्न पाइन्छ । कतिपय आफु र आफ्ना बाहेक अरु केही होइनन् भन्ने ठान्छन् । अर्काको अस्तित्व स्विकार गर्न नसक्नेहरुले समाजमा भाडाभैलो मच्चाएर आफ्नो स्वार्थ पूरा हुने क्षणिक सपना बुन्दै जाँदा समस्या बढ्ने गरेको छ । अर्काको अस्तित्व स्विकार गर्न नसक्नेहरुले समाज मिलाउने कुरै भएन । अर्काको अस्तित्व स्विकार गर्न अरुको एजेण्डालाई र अरुको नेतृत्वलाई पनि स्विकार गर्न सक्ने क्षमता हुनुपर्छ । यस्तो क्षमता नभएको व्यक्तिले समाज मिलाउने सक्ने कुरै भएन । चौबिसैघण्टा आफु केन्द्रित हुनेहरु समस्याका रुपमा रहेको पाइन्छ । तसर्थ आफ्नो ठाउँको विकासका लागि होस् समाज एक ढिक्का बनाउनका लागि होस् एक अर्काको अस्तित्व स्विकार गर्ने वानी बसाल्न जरुरी छ । यदि बानी सुधार हुँदैन भने त्यस्ता व्यक्तिलाई सामाजिक रुपमा बहिस्कार गर्नैपर्ने हुन्छ । विकास हुनका लागि सबै मिलेर अघि बढ्नुको विकल्प छैन । सत्ता भन्दा बाहिर भयो बरबराउने राजनीतिक संस्कार बढ्दै गएको । यस्तो सरकारले देश र जनतको हित हुन् कुरै भएन । देश र जनताका लागि काम गर्ने हो भने एक अर्कासंग सहकार्य गर्न किन गाहे मान्ने ? सहकार्य गर्न नखोज्ने रोग केन्द्रमा मात्र होइन स्थानीय तहमा पनि उत्तिकै छ । निर्बाचनमा गठबन्धन गर्ने तर किवासका लागि गठबन्धन नगर्ने कस्तो राजनीतिहो ? तसर्थ जनता सचेत हुन जरुरी छ ।