सम्पादकीय
नेपालको राजनीतिमा दिनप्रतिदिन मानवता र लाज हराउँदै गएको अवस्था
छ । जे बोलेपनि हुन्छ जे गरेपनि हुन्छ भन्ने मानसिकता बलियो हुँदै गएको छ । जनतालाई ठग्न सजिलो छ भन्ने कुरा राजनीतिमा बलियो गरी बन्दै गएको छ । आफुले बोलेका कुरा लागु हुनुपर्छ भन्ने मानसिकता हराउँदै जाँदा जे पायो त्य िभाषण गर्ने र ताली खाने राजनीतिलाई सफल राजनीति हो भनेर बुझाउने प्रयास भइरहेको छ । यसले गर्दा पछिल्लो सयम नेताहरुप्रति नागरिकले बिश्वास गर्न कम गरेका छन् । नेता बालेपछि काम हुन्छ भन्ने जनतालाई बिश्वास थियो पछिल्लो समय नेता बोल्ने हुन् काम केही हुने होइन भनेर सहज रुपमा भन्न थालेका छन् । धन सम्पत्ती र सत्ताका लागि जे पनि गर्न तयार हुने प्रबृत्ति नेपाली समाजमा बढ्दै गएको छ । ठूला नेता मानव तस्करीमा लागेका छन् भने अरुका के कुरा गर्नु ? टीकापुर ८ श्रीलंकामा लालपूर्जा हातमा भएर पनि जग्गा उपभोग गर्न पाएका छैनन् । बाढीले बिस्थापित भएका परिवार कणाली नदीले धार परिवर्तन गरेपछि जग्गा उपभोग गर्न खोज्दै छन् तर जनप्रतिनीधि र केही व्यक्तिहरु अर्काको जग्गामा रजाई गर्दै छन् । यस्ता कैयन समस्या नागरिकका छन् । भूमिहिन , सुकुमवासीलाई जग्गा दिन आयोग बनाइन्छ तर बर्षाैसम्म पनि जग्गा दिईदैन । आयोग बनाएर नागरिकलाई आफ्नो भोट बैङ्कको रुपमा प्रयोग गर्ने गरिएको छ । विपन्न नागरिकलाई रोजगारी दिने हो भने उनीहरुले बासको व्यबस्था आफै गर्न सक्छन् । बासको व्यबस्था गर्छाै भनेर पटक पटक भोट लिए तर व्यबस्था भएको छैन । निर्बाचनका बेला जग्गाको आश्वास नदिएपनि हुनेथियो तर जग्गाकै आश देखाउछन् । नागरिकका धेरै समस्या बर्षाै देखि थुप्रिएकाछन् तर सरकारमा बस्नेहरुले हल गर्न चासो दिदैनन् । नागरिकका समस्या हल गर्नु भन्दा कुन काम गरेपनि आफुलाई नाफा हुन्छ त्यहि ध्यान दिने गरेका छन् । राज्यको समस्या पहिचान गरेर समाधान गर्न समय दिएको भए बर्षाै देखि समस्याको थुप्रो लाग्ने थिएन । तसर्थ नागरिक सचेत भएर नेताहरुलाई दबाब दिन जरुरी छ ।