वडा नं.५ मा कर्णालीको ड्याम भत्कन थाल्यो,बसन्तामा रानीकुलाले पर्खाल र बाटो भत्कायो

टीकापुर, २१ भाद्र/कर्णाली नदीमा पानीको वहाव बढ्न थालेपछि टीकापुरको वडा नं. ५ दौलतपुर घाट र बसन्तास्थित रानी कुला पुल नजिक कटान भएको छ । केही दिन अघि भएको नियमित वर्षाले रानी कुलामा पानीको वहाव बढ्दा बसन्ता नजिक बनाइएको पक्की पर्खाल भत्काउनुका साथै कालोपत्रे सडक कटानी गरेको छ ।
रानी कुलाले ५० मिटर बाटो कटान गरेपछि स्थानीयले जैविक तटबन्ध थालेका छन् । स्थानीय सयौँ नागरिक कट्टा र बासको सहयोगमा जैविक तटबन्धमा जुटेका छन् ।
२ दिनदेखि रानी कुला बन्द गरेर तटबन्धको काम र ग्राभेल हाल्ने कार्य भइरहेको वडाध्यक्ष बलबिर थारुले जानकारी दिनु भयो । समयमा नदी कटान नरोकिए मा बसन्ता जाने मुख्य बाटो अबरुद्ध हुने जोखिम बढेको छ ।
यसका साथै दौलतपुरस्थित राम मन्दिर नजिक सिँचाइ आयोजनाले बनाएको ड्याम भत्किन थालेको छ । कर्णाली नदीले ५० मिटर ड्याममा क्षति पुगाएको र समयमै रोकथाम नगरे नदी बस्तीमा पस्ने जोखिम बढेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।
कर्णाली नदीको ड्याम भत्किएमा वडा नं. ५, ६, ७, ८ डुवानमा पर्ने जोखिम रहन्छ । जोखिम रहेका यी क्षेत्रमा तत्काल रोकथामका लागि टीकापुर नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बास तथा झाला र ग्राभेल प्रयोग गरी रोकथाममा स्थानीय जनशक्तिको प्रयोग गर्ने निर्णय गरेको छ ।
यसैबीच वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले गत वर्ष विपद् कोषबाट भएका कार्यबारे जानकारी दिनुभएको थियो ।