टीकापुर, १७ कात्तिक\सामुदायिक वन उपभोक्ता समितिलाई जडिबुटि संरक्षण, नयाँ बृक्षारोपण लगायत का आयका स्रोत परिचालन गरी आम्दानीलाई दिगो बनाउनु पर्ने सुझाव आउन थालेको छ ।
शनिबार टीकापुर नगरपालिका –२ राजीपुरस्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको १६ औं वार्षिक साधारण सभामा बोल्दै टीकापुर नगरपालिका–२ का वडाध्यक्ष दीपक चौधरीले सामुदायिक वनमा विभिन्न जडीबुटीहरू रहेकाले त्यसको पहिचान गरेर वनको आयआर्जन वृद्धि गर्नुपर्ने बताउनु भयो ।
निवर्तमान कार्यसमितिले वनलाई १६ वर्षदेखि संरक्षण सम्बर्धन गर्दै आएकोले नयाँ आउने कार्यसमितिले वनलाइ दिगो बनाउनमा ध्यान जानुपर्ने बताउनुभयो । वडाध्यक्ष चौधरी ले वनजङ्गललाई पूर्ण रूपमा तारजालीले घेरबार नगरेका कारणले मानव र वन्यजन्तु बीच द्वन्द भइरहेकोले स्थानीय सरकार संग त्यस्त योजना माग गर्न अनुरोध गर्नुभयो ।
शीतल सामुदायिक वनभोक्ता समूहका अध्यक्ष कर्ण बुढाले जनशक्ति सामुदायिक वनको मूलपानी क्षेत्र पर्यटकीय सम्भावना बोकेकाले त्यसको व्यवस्थापनमा छिमेकी वन शीतल सामुदायिक वनले पनि सहकार्य गर्ने प्रतिबद्धता जानुभयो ।

उहाँले यी क्षेत्रका चार ओटै सामुदायिक वनहरूले मालझुल देखि पोलिटेक्निकल सम्मलाई तार जाली लागाउन स्थानीय सरकारसँग माग गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा रानी कर्णाली सामुदायिक वनका अध्यक्ष रमेश बिकले जनशक्ति सामुदायिक वनको कार्ययोजना सकिने बेला भएकाले समयमै नयाँ नेतृत्व चयन हुनुपर्नेमा उपभोक्ताहरुले सचेत हुनुपर्ने बताउनुभयो । उहाँले पुरानै कार्यसमितिले वनको कार्ययोजना निर्माण संस्था नवीकरणका काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जनशक्ति सामुदायिक वनले टिकापुर नगरपालिका १ सत्घरुवाका राजकुमार चौधरी टीकापुरमा निर्माणको काम गर्ने क्रममा घाइते चौधरीको उपचारका लागि चार हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । त्यसैगरीे सामुदायिक विद्यालयमा अध्ययनरत चार वटा विद्यालयका आठ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष दिर्घाबहादुर तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा खोटेना भुराखानी सामुदायिक वनका अध्यक्ष भुपेन्द्र साउद, सल्लाहकार समिति संयोजक नारायण बिक, सबडिभिजन वन कार्यालयका प्रतिनिधि कमल बहादुर थापा, कालिका आधारभूत विद्यालयका अध्यक्ष जोगी रावल, शिक्षक टिकाराम चौधरी, राजीपुरका वरघर बहादुरसिंह लोहार र पत्रकार रतनलाल चौधरी लगायतले बोल्नुभएको थियो ।
वनका उपाध्यक्ष पूर्ण रावलले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव मञ्जु चौधरीले गर्नुभएको थियो ।
कोषध्यक्ष नीमा चौधरीले जनशक्ति सामुदायिक वनको आर्थिक वर्ष २०८१÷८२ को ५३ लाख ६८ हजार ७ सय ४९ रुपैया बराबरको वास्तविक आयव्याय प्रस्तुत गरेको छ भने २०८२÷८३ को ४९ लाख २४ हजार बराबरको अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको छ ।