वर्तमान सरकारले नागरिकलाई सन्देश दिन सकेन

सम्पादकीय
वर्तमान सरकार बनेपछि अब केही स्थिरता हुन्छ भनेर जनताले आशा गरेका थिए तर सय दिन पुग्न लाग्दाको अवस्थालाई बुझ्ने हो जनताले आशा गर्ने ठाउँ कम छ । प्रचण्डको उथल पुथल र साना दलको झिजोबाट नागरिक दिक्क भएका थिए । साना दलको स्वार्थ मन्त्री र पैसा मोह मात्र देखियो । साना दललाई जनताले पत्याएर यस पटक ससदमा पु¥याए तर जनताको भावना अनुसार खरो उत्रन सकेनन् बरु मन्त्रीका लागि बार्गेनिङ गर्ने र मन्त्रालयमा गएपछि पैसा मात्र खोजेको प्रष्ट थाहा भयो । ठूला दलको व्यबहारबाट दिक्क भएका जनताले साना दललाई मौका दिएपनि मौकालाई प्रयोग गर्न सकेको देखिएन । प्रचण्ड कहिले नेकपा एमालेतिर त कहिले कांग्रेसतिर गएर अस्थिरतामा रमाउन थालेपछि यो भन्दा कांग्रेस र एमाले मिलेर सत्ता चलाए टण्टा साफ हुनेथियो भन्ने सोच बलियो हुँदै गएको  थियो । प्रचण्डले सुशाषन र भ्रष्टाचार रोक्नुभन्दा कसरी सत्तामा बसेर पार्टी बलियो बनाउने सोच बनाए । पार्टी बलियो बनाउन उनले राज्यको साधन स्रोत दुरुपयोग गर्ने बाहेक अरु काम केही गरेनन् । दिनभरी बोल्ने काम मात्र भयो प्रचण्डको । प्रगति केही नहुने, जनताले राहत महशुस गर्नुनपर्ने अनी प्रचण्डले आफ्नो कार्यकालमा राम्रो भएको छ भन्दै आफ्नो पिठ्यू आफै थपथपाउने काम भयो । अरुका पार्टी फोड्ने अनी दिनरात सत्ताका लागि योजना मात्र बनाए प्रचण्डले । यसरी आजित भएपछि जनताले एमाले र कांग्रेस को सयुक्त सरकार आश गर्नु स्वभाविकै हो । दुई ठूला दल मिलेपछि साना दललाई नमिलाएपनि हुनेथियो । भविष्यमा सहयोग लिनुपर्छ भनेर साना दललाई मिलाएका छन् । दुई दल मिलेर जनभावना अनुसार काम गरेको भए त्यसै राम्रो हुने थियो । सय दिन पुग्न लाग्दासम्म यो सरकारले आशा जगाएन । जति दिन बित्दै छ त्यति बद्नाम हुँदै छ । त्यति मात्र होइन सत्ताधारी दम्भमा डुब्न थालेको जनताले महशुस गर्न थालेका छन् । सुशाषनको आशा गरेका जनता अहिलेको सरकारले पनि केही गर्दैन भन्न थालिहाले । यो भन्दा दुख लाग्दो कुरा के हुन्छ ? सत्ता नपाएपछि के के न गर्छाै भन्ने अनी सत्तामा गएपछि बिरोध गर्नेहरुको बोली बन्द गर्नेहरुबाट जनताले आशा गर्ने ठाउँ रहेन । जनतालाई यो पनि थाहा छ राजनीतिक दलको विकल्प छैन । तर नेताहरुले आफ्नो व्यबहार सुधार्न जरुरी छ ।