विकासका सवालमा छलफल गरौं

सम्पादकीय
टीकापुर नगरपालिकामा आएका जनप्रतिनीधिहरु छलफल र बहसबाट भाग्ने गरेका छन् । छलफल र बहसबाट निस्कने निस्कर्षले एकताको भावन जगाउँछ । एकताको वातावरण बनाउनुको साटो जनप्रतिनीधिहरु कसैले प्रश्न नगरोस् भन्नेमा छन् । अघिल्लो पटक पनि त्यसै भयो र यस पटक पनि त्यहि छनक देखिन थालेको छ । अस्नेरीमा राखिएको बत्ति बिच सडकमा गाडिएको छ । सडक सागुँरो छ तर बिच सडकमा बत्ति गाडिएको छ । के गर्दा राम्रो हुन्छ भन्ने बारेमा अलिकति पनि सोचको पाइदैन । नगरका योजना बनाउदा छलफल भएको भए जनप्रतिनीधिले सोचेका भन्दा राम्रा सुझाव आउने थिए । सुझाव संकलन गरेको भए जनप्रतिनीधिलाई काम गर्न सजिलो हुने थियो । टीकापुर यसै पनि नमूना शहर हो । सुदुरपश्चिमको टीकापुर आफै पनि योजनाबद्ध बस्ती हो । यस्तो बस्तीमा विकासका पूर्वाधार मिलाउन मात्र वाँकी छ । यस्तो व्यबस्थित बस्ती दिनप्रतिदिन शहरको रुपमा विकास हुँदैछ । शहरको रुपमा विकास भइरहेको टीकापुरले राज्यबाट खासै सहयोग पाएन । टीकापुर विकास समितिको जग्गा बिक्री गरेको पैसाले निर्माण भएका संरचना थोरै छन् तर दीगो छन् । यसरी खड्गबहादुर सिंहको पालामा निर्माण भएका संरचनामा अहिलेका सामाजिक अगुवाले धाक लगाइ रहेका छन् । पहुँचको भरमा र दबाबका भरमा पाइने विकास बजेट यस पटक टीकापुरका लागि सुनौलो अवसर छ । टीकापुर क्षेत्रले यस पटक केन्द्रमा ५ जना सांसद पाएको छ भने दुई जना प्रदेश सांसद । यसरी यत्रो संख्यामा टीकापुरले सांसद पाएको छ । यो अवसरलाई टीकापुरले प्रयोग गर्न सक्नुपर्छ । तसर्थ टीकापुर नगरपालिकाले सांसदहरुसंग बृहत छलफल गरेर विकास निर्माणको ठोस योजना तयार गर्नुपर्छ । विकासको ठोस योजना भयो भने मात्र नमूना सहरले साथृकता पाउँछ । यो बिषयमा नगरबासीले पनि दबाब दिन जरुरी छ । नागरिक चुप लाग्ने हो भने जनप्रतिनीधिबाट मात्र धेरै आशा गर्न सकिदैन ।