टीकापुर, २३ जेठ/स्थानीय पालिकामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन योजना छनोटका विभिन्न चरणहरुका काम हुँदैछ । योजना छनोटका ७ चरणबारे अभिमुखी करण कार्यक्रम भएको छ । अभिमुखिकरणमा योजना छनोटमा विपद्लाई मूल प्रवाहीकरण कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भएको हो ।
योजना छनोटमा ५ विषयगत क्षेत्रमा समेत विपद्मैत्री योजना छनोटलाई प्राथमिकता दिन ध्यान दिनुपर्ने बारे जनप्रतिनिधिलाई जिम्मेवार बन्न आग्रह गरिएको छ । योजना तर्जुमा गर्दा विपद् व्यवस्थापनमा सघाउने खालका योजना तर्जुमा गर्न बस्तीबाटै सोही खालका योजना माग हुनुपर्ने जानकी गाउँपालिकाका विपद् शाखा प्रमुख नेत्रप्रसाद जैसीले बताउनुभयो ।
विषयगत क्षेत्रमा विपद् जोखिम न्यूनिकरण र जलवायु परिवर्तनका सवालहरु नीति, रणनीति, कार्यक्रम र बजेटमा समावेश गर्ने पक्रियालाई मूल प्रवाहीकरण भनिन्छ । विपद्बाट हुने दीर्घकालिन असर घटाउन, अति सकंटासन्न समुदाय र समूहको सुरक्षा गर्न र जोखिममा रहेका समुदाय सचेत बनाउन मूल प्रवाहीकरण आवश्यक रहेको जैसीको भनाइ छ ।

योजना छनोटमा सहभागीहरु सचेत भएमा विषयगत क्षेत्रतर्फ योजना बनाउन विपद् र जलवायु मैत्री योजना बनाउन सकिन्छ ।
बजेटका ७ चरणमा बजेटको पूर्व तयारी, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण, बस्ती, टोल स्तरमा योजना छनोट, वडास्तरमा योजना प्राथमिकता निर्धारण, एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा, कार्यपालिकाबाट स्वीकृत र सभामा पेश गर्ने र सभाबाट स्वीकृत भएपछि लागू हुन्छन् । पालिकाहरुले बजेटको पूर्व तयारी पुष १५ गतेभित्र गरिसक्नु पर्ने हुन्छ । त्यसपछि माघ, फागुन, चैत हुँदै विभिन्न चरण पूरा गरी असार मसान्तभित्र सभाबाट स्वीकृत गरिसक्नुपर्ने हुन्छ । बजेट विनियोजन गर्दा विषयगत ५ क्षेत्र लाई ध्यानमा राखेर विनियोजन गर्ने गरिन्छ ।
वडा नं। १ का वडाध्यक्ष मोहन लुहार विकले टीकापुर नगरपालिका योजना छनोटको तेस्रो चरणमा रहेको बताउँदै अबको केही दिनमा बस्तीमा जाने तयारी मा रहेकाले गाउँ टोलबाट विपद् मैत्री योजना माग गर्न सुझाव आउनुपर्ने बताउनुभयो । उहाँले वन वातावरणमा भएको बजेट पनि विगतमा विपद्मैत्री बनाउन नसकेको बताउँदै आगामी दिनमा सुधार गर्ने बताउनुभयो ।
वडा नं। ४ का वडाध्यक्ष लालविर चौधरीले योजना निर्माण गर्दा विषयगत क्षेत्रमा वन वातावरण को अंकभार नै बढाउन आवश्यक देखेको बताउनुभयो । अन्य भन्दा शुसासन र वन वातावरण क्षेत्रमा अंकभार बढाए मा विपद्मैत्री योजना बनाउन सकिने बताउनुभयो ।
वडा सदस्य राजकुमार चौधरीले बजेट निर्माण गर्दा विपद् जोखिममा रहेको क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
महिला स्वास्थ्य स्वयम सेविका गोमा ढुंगानाले विपद्लाई प्राथमिकता राखेर योजना बनाउनु पर्छ भनी बस्तीस्तरमा नागरिक लाई समेत सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख रामलाल डगौरा थारुले विगतदेखि योजना छनोट को अनुभव भए पनि विपद्लाई प्रथामिकता दिएर योजना ल्याउने भन्नेबारे सबैलाई जिम्मेवार बनाएको बताउनुभयो ।
मोफा जापान र वल्र्ड भिजन जापानको आर्थिक सहयोग, वल्र्ड भिजन इन्टर नेश्नल नेपालको साझेदारीमा सामाजिक विकास का लागि सचेत समाज सीएसएसडी धनगढीद्वारा संचालित समुदायमा आधारित विपद जोखिम न्युनिकरण परियोजनाको आयोजनामा भएको कार्यक्रम परियोजना संयोजक भरत विकले सञ्चालन गर्नुभएको थियो ।