टीकापुर, १५ जेठ/टीकापुर नगरपालिकाको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्य योजना निर्माणका लागि प्रारम्भिक छलफल भएको छ । छलफलमा टीकापुर बाढी, हावाहुरी, आगलागी र शितलहरको विपद्ले हरेक वर्ष जोखिममा पर्दै आएकाले न्यूनिकरणमा सहयोग पुग्ने खालको योजना बनाउन सुझाव आएका छन् । तथ्यांक अनुसार विगत २० वर्षयता विपद्मा परेर ५ जनाको ज्यान गएको छ तर विपद्का कारण धनजनको क्षति धेरै भएकाले जोखिम न्यूनिकरण गर्न रणनीतिक रुपमै काम गर्नुपर्ने आवश्यकता छ ।
आइतबारको छलफलमा रणनीतिक कार्ययोजना निमार्ण गर्न आवश्यक नीतिगत तथा संरचनागत अवस्था, रणनीतिक कार्ययोजना २०१८ देखि २०३० मा रहेका प्रावधान तथा सूचकलाई कसरी स्थानीयकरण गर्ने भन्ने बारे छलफल भएको छ । योजना निर्माण गर्न आवश्यक तथ्यांक संकलन गर्न विषयगत कार्यालय, शाखा र वडा कार्यालय तथा सरोकारवालासँग सूचना संकलन गरी पुनःपालिका स्तरीय बैठक बस्ने निर्णय भएको छ ।
उप–प्रमुख खडकबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख शाहले योजना निर्माण गर्न सही तथ्यांक आवश्यक भएकाले वडातह बाट तथ्यांक ल्याउन पालिकाले सहयोग गर्ने बताउनु भयो ।
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले स्थानीय स्तरमा नीति कार्यान्वयन गर्ने संयन्त्र कमजोर भएको बताउँदै सूचक मात्र ठूलो कुरा नभइ यहाँको अवस्थालाई ध्यान दिएर सूचक निर्माण गर्न सुझाव दिनुभयो । उहाँले विपद् जोखिम न्यूनिकरणका लागि राजनीतिक प्रतिवद्धता समेत आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका विपद् व्यवथापन शाखा प्रमुख निर्मला चौधरीले पालिकाले गरेका कार्य र हालको अवस्था बारे जानकारी दिनुभयो ।
कार्यक्रम नगरपालिकाको आयोजना तथा प्राक्टिकल एक्सन र सामाजिक विकास तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बाढी उत्थानशील परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा भएको हो ।