विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैनः प्रधानमन्त्री

काठमाडौं,३० असोज/प्रधान मन्त्री सुशीला कार्कीले नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले बुधबार वक्तव्य जारी गर्दै जोशीको आत्माको चिरशान्तिको कामना गर्दै भन्नुभयो, “उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन ।”
उहाँले दुई वर्षदेखि बन्धकमुक्त हुने अटुट आशा र सामूहिक प्रार्थनाबीच आएको विपिनको मृत्युको समाचारले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो हृदय विदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
प्रधानमन्त्रीले विपिन जोशी केवल एक विद्यार्थी नभई विदेशमा अध्ययनरत हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्दै उहाँको जीवन उत्साह, लगनशीलता र सहयोगी स्वभावले भरिएको बताउनुभयो। “उहाँ सकुशल फर्किएर नेपालको विकासमा योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो,” उहाँले भन्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले सदा शान्ति पक्षधर नेपालको छोरा विपिन जोशी अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुपरेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “उहाँको अपहरणपछि सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए ।  उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ ।”
प्रधानमन्त्रीले जोशीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा देखाउनु भएको साहस, बहादुरी र त्यागका कारण कैयौं साथीहरूको ज्यान बचाउन सफल भएको जनाउँदै भन्नुभएको छ, “उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्ने    छ ।”