वीरेन्द्र विद्या मन्दिर स्वर्णमहोत्सव स्तम्भको शिलान्यास

टीकापुर, १ पौष/सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्र विद्या मन्दिरको स्वर्णमहोत्सव स्तम्भको शिलान्यास गर्नुभएको छ ।
यमरीपुन्ही र उधौली पर्वको अवसर पारी मङ्सिर ३० गते स्तम्भको शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्री शाहले आफ्नो एक महिनाको पारिश्रमिक आफू पढेको विद्यालय वीरेन्द्र विद्या मन्दिरको स्वर्णमहोत्सवलाई दिने घोषणा गर्नुभएको छ ।
उहाँले देश विदेशमा रहेका, पेशा व्यवसायमा रहेका, सरकारी निकायमा बसेका पूर्व विद्यार्थीहरुले थोरथोरै सहयोग गरे ठूलो सहयोग जुटने र महोत्सवका लागि सहयोग नपुगे आवश्यक सहयोग प्रदेश सरकारले पनि गर्ने आश्वासन दिनु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले ५० वर्ष अघि स्थापना भएको विद्यालयले देशका लागि धेरै कर्मचारी, नेताहरु जन्माएको र सुदूरपश्चिममा मात्रै मुख्यमन्त्री, एक जना मन्त्री र दुई जना बहालवाला सदस्य विद्यालयका पूर्व विद्यार्थीहरुको बताउनुभयो । आफू पूर्व विद्यार्थी, खेलाडी, कलाकार हुदै मन्त्री भएको तर विद्यालयका भौतिक संरचना जिर्णोद्वार गर्नुपर्ने अवस्थामा पुगेकाले टीकापुरमा शैक्षिक लगानी गरी शैक्षिक पर्यटकीय केन्द्रको रूपमा विकास गरिने बताउनुभयो ।


स्नातकोत्तर सम्मको पढाई हुने वीरेन्द्र विद्या मन्दिरको स्वर्णमहोत्सव २०८१ फागुन ९ गतेदेखि ११ गतेसम्म टीकापुरमा हुने र राष्ट्रपति रामचन्द्र पौडेल महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको छ । स्वर्णमहोत्सव स्तम्भ निर्माणमा २५ लाख बजेट लाग्ने छ ।
महोत्सवको आर्थिक समितिका स्रयोजक जगदिश्वर पण्डितले टीकापुरको पहिचान नै वीरेन्द्र विद्या मन्दिर भएकाले नगरवासीले उत्सवका रुपमा लिनुपर्ने बताउनु भयो ।
वीरेन्द्र विद्या मन्दिरका प्राचार्य फणेन्द्रराज रेग्मीले ऐतिहासिकता र छाप छोडन विजयपछि खम्बा गाडने राजनीतिक परम्परा पनि भएकाले यहाँका उच्च पदमा रहेका विद्यार्थीहरुले स्वर्णमहोत्सवमा सहयोग गर्नुपर्ने बताउनु भयो । स्वर्णमहोत्सव आयोजक समितिका सदस्य लोकबहादुर खडकाले मुख्यमन्त्री शाह, उद्योग मन्त्री चौधरी लगायतलाई धन्यवाद दिनुभयो ।