वृद्ध सेवा समितिको अध्यक्षमा मुक्तिनाथ रेग्मी

टीकापुर, १७ बैशाख/वृद्ध सेवा समिति टीकापुरको अध्यक्षमा मुक्तिनाथ रेग्मी चयन हुनुभएको छ । समितिको २३ औँ साधारण सभा तथा छैठौ चुवानी सभाबाट अध्यक्षमा रेग्मी चयन हुनुभएको हो ।
समितिको सचिवमा लोकराज रेग्मी, कोषाध्यक्ष देबेन्द्र बहादुर रावल,सदस्यमा बलबहादुर रावल, बविता विष्ट, उदयराम अधिकारी, रत्नचन्द्र भण्डारी, लिलाराम पाण्डे, लता शाह, भक्तबहादुर रावल र हेमन्त रेग्मी चयन हुनुभएको छ ।
कण्ठराज गिरीको अध्यक्षतामा ३ सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ । सल्लाहकार समितिको सदस्यमा धनञ्जय तिमिल्सिना, जगत बहादुर विष्ट चयन हुनुभएको छ ।


समितिका अध्यक्ष कण्ठराज गिरीको अध्यक्षतामा भएको सभामा दुई संस्था र एक ब्यक्ति लाई सम्मान गरिएको छ । सभामा समितिका संस्थापक अध्यक्ष स्वर्गिय मोहनबहादुर रावलले स्थापना गर्नुभएको मोहन प्रतिभा पुरस्कारबाट सञ्चारमाध्यम मार्फत् जेष्ठ नागरिकका विषय उठान गर्ने सामुदायिक रेडियो टीकापुर एफएम, रक्तदान गरेर नागरिक को जीवन रक्षामा सहयोग गर्ने सन्त निरंकारी मण्डल नेपाल टीकापुर र योग तथा साधनाका माध्यमले समाजका जागरण ल्याउने योग प्रशिक्षक दीर्घराज गिरीलाई नगद १० हजार ५ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको छ ।
समाजले हरेक वर्ष स्वर्गिय रावलको सहयोगमा स्थापना गरिएको रु ५ लाखको अक्षय कोषको ब्याज रकमबाट ३ जना ब्यक्ति वा संस्थालाई सम्मान गर्ने गरेको छ ।
सोही कार्यक्रममा पुरस्कृत ब्यक्तित्व दीर्घराज गिरीले संस्थाको संस्थागत विकासका लागि आफूले पाएको पुरस्कारमा थप १५ हजार थपेर संस्थालाई २५ हजार सहयोग गर्नुभएको छ ।
बलबहादुर रावलले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सचिव लोकराज रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष देवेन्द्र बहादुर रावलले आर्थिक वर्ष २०७८÷०७९ को ३ लाख ५ हजार बराबरको आयव्यय प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रका सञ्चालिता सीता तिमिल्सिना प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै तिमिल्सिना ले स्वर्गिय मोहन बहादुर रावलले बृद्धा आश्रमलाई छुट्टै खालको सुन्दर बनाउने योजना रहेको स्मरण गर्नु भयो ।
उहाँले आश्रम कोही नभएका, बृद्धमात्रै जाने ठाउँ होइन भन्ने बुझाउन उहाँले सपना देख्नुभएको उहाँले बताउनुभयो ।
सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले स्वर्गिय मोहन बहादुर रावल जिज्ञासु रहेको स्मरण गर्नुभयो । जिज्ञासु र समाजका लागि विकासप्रेमी भएकाले उहाँ सबैको सम्झनामा रहनुभएको बताउनुभयो ।कार्यक्रममा समाजसेवी धनञ्जय तिमिल्सिना, सम्मानित ब्यक्तित्व दीर्घराज गिरी, उदयराम अधिकारी, पहलमान खत्री, पत्रकार दुर्गा देवकोटा, लिलाराम पाण्डे, रंगनाथ रेग्मी, जगतबहादुर विष्ट लगायतले बोल्नु भएको थियो ।