शहिद स्मृतिको १४ औं बार्षिक साधारणसभा

टीकापुर, १४ पौष/टीकापुर स्थित शहिद स्मृति जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले सहकारी लाई व्यबस्थित गर्न सदस्यहरु नै चनाखो हुनुपर्ने बताउनु भयो । उहाँले शहिद सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिबिर सञ्चालन गरेको भन्दै स्वास्थ्यकर्मीहरुको समूहले स्वास्थ्य क्षेत्रमा काम गर्नेगरी स्थापना गरेको सहकारी टीकापुर क्षेत्रमा पहिलो हो भन्नुभयो । ‘‘सहकारीका बारेमा नजाने कुरा छन् भने म सहयोग गर्न तयार छु ,’’ आचार्यले भन्नुभयो,‘‘ यो सहकारीले नगरपालिका क्षेत्रमा सेवा विस्तार गर्न सक्छ ।’’ संस्था का अध्यक्ष योजना अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा शंकर प्रशाद शर्मा, भुवनेश्वर अधिकारी र टेकनारायण पौडेले सहकारीका बारेमा बिचार राख्नु भएको थियो ।


कार्यक्रममा स्वागत उपाध्यक्ष चेतमान शमाले गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष रामप्रशाद ढुगांनाले गर्नुभएको थियो । संस्थाको प्रतिबेदन अध्यक्ष अधिकारीले,आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामप्रशाद ढुगांना र लेखा प्रतिवेदन मंगल प्रशाद चौधरीले पेश गर्नुभएको थियो । संस्थाले २ लाख ५४ हजार ७ सय ६४ रुपैया खुद नाफा गरेको छ । एक सय १२ जना महिला र एक सय ६ जना पुरुष गरी दुई सय १८ जना शेयर सदस्य छन् । शेयर सदस्य बन्न स्वास्थ्यकर्मी हुनै पर्ने प्रावधान छ भने श्रीमान श्रीमती मध्य एकजना स्वास्थ्यकर्मी भए हुन्छ । करिब ६० लाख रुपैया कर्जा लगानी गरेको सहकारीले भवन निर्माण थालेपनि अधुरो रहेको छ ।
यसै गरी साधारसभामा दुइ जना जेहन्दार बालबालिका लाई नगद सहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा दिपिका ढुगांना र निश्चल रावल रहेका छन् । सहकारीमा शेयर रकममा एक रुपता ल्याउन ५ सदस्यीय समिति गठन भएको छ । टेकरानारायण पौडेलको संयोजकत्वमा भुवनेश्वर अधिकारी , पुष्पराज उपाध्याय, बालिका सुवेदी र तुलसा भट्टराई ९पाण्डे ० सदस्य हुनुहुन्छ । यो समितिले साधारणसभाले पास गरे जतिको रकम नबुझाएका सबै सदस्यलाई शेयर रकम बुझाउन आग्रह गर्ने र स्वयम सेविकाहरुलाई पनि सहकारीमा आबद्ध गर्न अनुरोध गर्ने छ । नितान्त स्वास्थ्य क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएको यो सहकारीले केही बर्ष टीकापुर अस्पतालमा औषधि पशल सञ्चालन गरेर सुपथ मुल्यमा आम नागरिकलाई औषधि उपलव्ध गराएको थियो ।