संघ संस्थाका बारेमा ध्यान जाओस्

सम्पादकीय
टीकापुरका संघ संस्थामा मसिनो गरी ध्यान दिन नसक्दा भएका संघ संस्था अधोगतीमा लागेको पाइन्छ । अधिकांस संघ संस्था सवल हुन सकेका छैनन् । संघ संस्थालाई बलियो बनाएपछि टीकापुरको पहिचान बलियो हुन्छ भन्ने भावना विकास नभई म गएपछि भन्ने सोचको विकास भयो । म गएपछि म र मेरा मान्छेका मात्र कुरा भए । संघ संस्थामा पारदर्शीता नहुँदा बीरेन्द्र जस्ता पवित्र संस्था धरासायी भएको छ । एउटा मन्दिरमा भएको ज्यादतीका बारेमा यो समाज एक ढिक्का हुँदैन । शिक्षा मन्दिरका बारेमा नागरिकको भावना पवित्र हुँदैन अनी कसरी अरु संस्था बलिया हुन्छन् । बीरेन्द्रलाई कसरी सक्षम र बलियो बनाउन सकिन्छ भन्ने बारेमा राजनीतिक दलका नेताको ध्यान गएको पाइदैन । संस्थामा प्रतिनीधित्व गर्ने व्यक्तिहरुले संघ संस्थामा काम गर्न नसकेपछि समाजले बहिस्कार गर्नुपर्ने हो तर यहाँ ठीक उल्टो हुँदै आएको छ । संस्थामा जान चाहनेले म गएपछि यो यो कुरा पुरा गर्छु, म संग यो यो योजना छ भन्नुपर्ने हो तर योजना नभएका मान्छेलाई पठाइन्छ । यसरी मनपरी तेरो र मेरोको नाममा प्रतिनीधित्व हुँदा संघ संस्थाको प्रगति भएन । संघ संस्थाका बारेमा नागरिक सचेत हुन जरुरी छ । संघ संस्थामा पार्टीले प्रतिनीधि पठाउँदा पार्टी र समाज अनी संस्था प्रतिको जवाफ देहिता बोध गराएर मात्र पठाउनुपर्र्छ । प्रतिनीधि पठाउँदा लिखित बाचा गराउन जरुरी छ । पार्टीको आडमा संस्थामा जाने अनी गएपछि पार्टी र समाजलाई चुनौती दिएर संस्था चलाउने प्रबृत्तिलाई अब प्रोत्साहन गर्नु हुँदैन । धेरै भयो अब सुधार गर्न जरुरी छ । संस्थामा जाने व्यक्तिको आर्थिक चरित्रलाई पनि मुल्यांकन गर्न जरुरी छ । आर्थिक चरित्र ठिक नभएकाहरुलाई पठाउँदा समस्या भएको हो । हरेक नागरिक सचेत हुन जरुरी छ । भ्रष्टाचार र व्यतिथी रोक्ने सवालमा नागरिक स्तरबाट ध्यान दिन जरुरी छ । मेरो र तेरो होइन इमान्दार व्यक्तिलाई अगुवा बनाउन जरुरी छ ।