टीकापुर,०२ चैत्र/टीकापुरका सञ्जय तिमिल्सिनाले अभियन गरेको चलचित्र आउट ल दफा २१९ प्रदर्शनमा आएको छ । तिमिल्सनाले अभिनय गरेको चलचित्र होली पर्वको अवसर पारी बिहीबार देशैभरि प्रदर्शनमा आएको हो । टीकापुरमा जन्मिनुभएका, हुर्किनुभएका सञ्जयले लामो समयको मेहनतपछि चलचित्रमा काम गर्ने अवसर पाउनुभएको हो । सानै देखि गीत, कविता लेखनमा रुचि भएका सञ्जयले कक्षा १० मा पहिलो पटक गीत लेख्नुभएको थियो । शुरुमा गायक बन्ने सपना बोकेका सञ्जयलाई समय र संघर्षले कलाकार बनाएको छ ।

प्लस टु सम्मको शिक्षापछि कला क्षेत्रमा भविष्य खोजेर लागेका सञ्जयले शुरुमा छोटो चलचित्र मार्फत अभिनय यात्रा शुरु गर्नुभएको थियो । केही अभिनय गरेर युटुवमा राख्दै आफूलाई निखार्दै गएका सञ्जयले रंगकर्मी सुनिल पोखरेलसँग थिएटर वर्कशप सिकेर औपचारिक रंगमञ्चको यात्रा शुरु गरेको उहाँको भनाइ छ । ‘‘थिएटरमा विभिन्न नाटकमा भाग लिएर सिक्ने मौका पाए’’, उहाँले भन्नुभयो, ‘‘हाल पनि म थिएटर, फिल्म, मोडलिङ, कविता लेखन र छोटो चलचित्रमा समेत सक्रीय छु । नाटकमा सीमित हुन नसकेर म दर्शकसम्म पुग्ने अभिलाषा बोकेर चलचित्रमा होमिएको हँु ।’’
सञ्जयले अभिनय गरेको चलचित्र आउट ल दफा २१९ ले राम्रो ब्यापार गरिरहेको बताइएको छ ।