टीकापुर २३ मंसिर/टीकापुर ४ छेगर खैलास्थित समृद्धि एग्रो फर्ममा नेपालका लागि इजरायली राजदुत हनन् गोदर गोल्डबर्जर (Hanan Goder Goldberger) अनुगमन गर्नुभएको छ ।
उहाँले बुधवार समृद्धि एग्रो फर्मबाट उत्पादन हुने विरुवाका बारेमा चासो देखाउनुभयो । २०१६ वर्ग मिटरमा निर्माण गरिएको हाइटेक पोलिहाउस निरीक्षण गरेपछि उहाँले फर्म सञ्चालक देबिलाल कोइरालासँग सरकारको सहयोग हो भन्ने प्रश्न गर्नु भयो । त्यतिमात्र होइन राजदुत हनन्ले यो खेती तिम्रो छिमेकीले किन गर्दैनन् भन्ने जिज्ञासा राख्नु भयो । उहाँले आफ्नो देश इजरायलमा २ प्रतिशतले कृषि खेती गर्छन् नेपालमा ६५ प्रतिशत ले खेती गर्छन् तर नेपालमा खाद्यान्न विदेशको भरमा पर्नुपर्छ भन्नुभयो ।
उहाँले कृषिमा आधुनिकिरण गर्न कृषि क्षेत्रका लागि प्रयाप्त जग्गा आवश्यक छ, नेपालमा कृषि क्षेत्रको जग्गा टुक्राटुक्रा बनाइदैछ जुन चिन्ताको विषय हो भन्नु भयोे । राजदुत आफ्नो एग्रो फर्ममा आएपछि फर्म सञ्चालक देबिलाल कोइरालाले आफ्ना लागि अवसर जुरेको बताउनु भयो ।
‘‘इजरायली राजदुतले मेरो फर्म अनुगमन गरेपछि भन्नुभयो ‘आइ एम भेरी इम्प्रेस्ड’’, फर्म सञ्चालक कोइरालाले भन्नुभयो, ‘‘उहाँले सरकारी सहयोग हो कि भनेर प्रश्न गर्नुभयो, मैले व्यक्तिगत लगानी हो भने ।’’ डेढ वर्षअघि टीकापुरस्थित एभरेष्ट बैङ्कबाट करिब ६० लाख रुपैयाँ कृषि ऋण लगानीमा तयार भएको पोलिहाउसमा कोइरालाले टिसु कल्चर प्रविधिका केरा उत्पादन गर्छन् भने साउन, भदौमा तोरीको साग उत्पादन गर्छन् । उहाँले त्यसमा भेडे खुर्सानी पनि उत्पादन गर्नुभएको छ ।
बैङ्कको ऋण लिएर पोलिहाउस मा लगानी गरेका कोइराला उसो त विज्ञानका विद्यार्थी हुनुहुन्छ । बिएस्सी गर्नुभएका कोइरालाले जागिरको पछि नलागेर वि।सं। २०७२ सालदेखि केरा खेतीमा लाग्नुभएको हो । उहाँले अहिले २० विघा क्षेत्रफलमा केरा खेती गर्नुभएको छ । टिसु कल्चर प्रविधि बाट उत्पादन भएका केराका बीउ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण हुने गरेको कोइरालाले बताउनु भयो । ‘‘पोलीहाउस ४ लाख बिरुवाको क्षमता भए पनि २ लाख बिरुवा मात्र उत्पादन गर्छौ,’’ कोइरालाले भन्नुभयो माग अनुसारको उत्पादन गर्ने हो ।’’
उहाँले पोलिहाउस विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो । ‘‘पोलिहाउस विस्तार गर्ने र बेमौसमी तरकारी उत्पादन गर्ने योजना छ’’, कोइरालाले भन्नु भयो, ‘‘कृषि अनुदानका विषयमा सरकारी निकाय गम्भिर छैनन्, काम गर्नेलाई भन्दा भनसुनमा लाग्दा अनुदान बद्नाम भयो ।’’ उहाँले राज्यको अनुदान उत्पादन क्षेत्रमा लगाउँदा साँच्चिकै काम गर्ने किसानलाई रोज्ने वातावरण सबैले बनाउन जरुरी छ भन्नुभयो ।