सम्पादकीय
२०७९ साल मंसिरमा भएको प्रदेश र संघको निर्बाचनबाट आएको जनादेश डरलाग्दो छ । संघको होस् या ७ वटै प्रदेशको जनादेश मिलेर सत्ता चलाउ भन्ने छ तर यस्तो जनादेशबाट सरकार चलाउने क्षमता नेपाली राजनेतामा छैन । जनताका सवालमा काम गर्नका लागि हो भने जनादेशले धेरै समस्या गर्नेवाला थिएन तर राजनीतिक दलका नेताहरुको चरित्रले गर्दा संघिय सरकार होस् या प्रदेश सरकार होस् दुबै चल्न गाहे छ । सत्ता मिलेर चलाउनु भनेको मिलेर खानु हो भन्ने बुझेका छन् दलका नेताहरुले । दलका नेताहरु मिलेर विकास निर्माण र सुशाषनका बारेमा गम्भिर भएको भए जनता निरास हुने थिएनन् । जनता निरास छन् तर नेताहरु सत्ताका लागि मरिहत्ते गरिरहेका छन् । प्रदेश सरकार बनाउने सवालमा पनि नेपाली कांगे्रस देखि भर्खर आएका नागरिक उन्मुक्ती पार्टी र जनमत पार्टीले मुख्यमन्त्रीको दाबी गर्न थालेका छन् । मुख्यमन्त्रीको दाबी गर्नु गलत होइन जनमत हो कि होइन भन्ने हो । ठूला दलको बहुमत नपुगेकै कारण साना दलले खेल्ने मौका पाएका छन् । साना दलले जनताको भावना अनुसार काम गरेभने ठूला दललाई पनि दबाब हुन्छ । ठूला दलका नेताहरुले प्रजातन्त्र र गणतन्त्र ल्याउनमा लगानी गरेको कुरा भजाउने गरेका छन् तर सत्तामा पटक पटक गएर जनभावना अनुसार काम नगरेको कुरा याद गर्दैनन् । जनताको भावना अनुसार काम नगर्ने अनी सत्ताको खेलमा मात्र लागेकै कारण ठूला दल बद्नाम हुँदै गएका छन् । ठूला दलमा पनि युवाहरु छन् उनीहरु ले काम गर्न पाउने हो भने गर्थे तर अवसर पाउँदैनन् । जनताको पक्षमा काम नगर्ने अनी कुर्सी पनि नछाड्ने प्रबृत्ति मौलाउँदै गएको छ । कतिपयले मध्यावधी हुन्छ भन्न थालिसेका छन् । यसबाट अहिलेको संसद पुरा चल्न सक्दैन भन्ने हो । निर्बाचन हुने अनी ५ बर्ष सरकार नचल्ने हो भने मुलुक अस्तव्यस्त हुने निश्चित हो । तसर्थ जनता सचेत हुन जरुरी छ । जनता सचेत नहुने हो भने मुलुकमा लुट मचाउनेहरु मात्र हाबी हुनेछन् ।