सम्पादकीय
नेपालको राजनीतिमा सहकार्यको भावना कमजोर हुँदै जाँदा आपसमा तिक्तता बढ्दै गएको छ । सहकार्य गर्ने बानी बसेको भए आपसमा मिलेर देश र जनताको पक्षमा काम गर्ने वातावरण बन्ने थियो । देश र जनताको हित भन्दा आफ्नो पार्टीको स्वार्थ माथि राख्ने , पार्टीको स्वार्थ भन्दा आफ्नो गुटको स्वार्थ माथि राख्ने राजनीतिले अबिश्वासको वातावरण बनेको छ । अर्काको अस्तित्व स्विकार नगर्दा मुलुक द्वन्दबाट बाहिर आउन सकेको छैन । एक अर्काको अस्तित्व स्विकार गरेर काम गर्नुको साटो पूर्बाग्रह राखेर काम गर्ने प्रचलनले मुलुक दिनप्रतिदिन संकटमा पर्दै गएको छ । केन्द्रमा मात्र होइन यो समस्या गाउँसम्म रहेको पाइन्छ । गाउँको विकास गर्नेबेला अर्कालाई स्विकार गर्न गाहे मान्छन् । विकास बजेटमा लुछाचुडी गर्ने बानी पारेकाछन् । विकास बजेट सबैका लागि भन्ने कुरा राजनीति गर्नेहरुले बुझ्दैनन् भने त्यो समाज र देश समस्यामा पर्नु स्वभाविकै हो । सत्तामा बसेपछि सबै राम्रो देख्ने र कसैले कमजोरी औल्यायो भने दुश्मन ठान्ने प्रबृत्ति छ । अर्काको अस्तित्व स्विकार गर्न नसक्नेहरुले समाजमा भाडाभैलो मच्चाएर आफ्नो स्वार्थ पूरा गर्ने गरेका छन् । अरुलाई धारे हात लगाएर आफ्नो गल्ती ढाकछोप एकछिन गर्न सकिएला तर त्यो ढाकछोप धेरैदिन टिक्दैन । नागरिक सचेत हुन जरुरी छ । कतिपय अवस्थामा नागरिकले दबाब पनि सृजना गर्न जरुरी छ । सहअस्तित्वको भावनालाई बलियो बनाएर अघि बढे मात्र मुलुकको प्रगति हुन्छ । विकास गर्छु भन्ने अर्काको अस्तित्व स्विकार्न नसक्नेहरुले समाजलाई मिलाएर हिड्न सक्दैनन् । समाज एक भएमात्र विकास हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।