सांसद जिम्मेवार बनौँं

सम्पादकीय
टीकापुर नक्साकंन अनुसार व्यवस्थित शहर हो । टीकापुरलाई व्यवस्थित सँगै नमूना शहरका रुपमा चिनिन्छ । टीकापुर सुदूरपश्चिमकै योजनाबद्ध बस्तीका रुपमा चिनिन्छ । योजनाबद्ध बस्ती भएकाले विकासका पूर्वाधार मिलाउन मात्र बाँकी छ । यस्तो व्यबस्थित बस्ती दिनप्रतिदिन शहरको रुपमा विकास हुँदैछ । शहरका रुपमा विकास भइरहेको टीकापुरले राज्यबाट खासै सहयोग पाएको देखिदैन । टीकापुर विकास समितिको जग्गा बिक्री गरेको रकमले निर्माण भएका संरचना थोरै छन् तर दीगो छन् । खड्गबहादुर सिंहको पालामा निर्माण भएका संरचनामा अहिलेका सामाजिक अगुवाले धाक लगाइरहेका छन् । राज्यबाट ठगिएको टीकापुर अब विकास निर्माणमा अवसर पाउने अवस्थामा छ । पहुँचको भरमा र दबाबका भरमा पाइने विकास बजेट यसपटक टीकापुरका लागि सुनौलो अवसर छ । टीकापुर क्षेत्रले यसपटक केन्द्रमा तीन जना सांसद पाएको छ भने दुई जना प्रदेश सांसद । यसरी यत्रो संख्यामा टीकापुरले सांसद पाएको छ । यो अवसरलाई टीकापुरले प्रयोग गर्न सक्नुपर्छ । यसका लागि टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाका जनप्रतिनीधि गम्भिर भएर लाग्न जरुरी छ । यो क्षेत्रको विकासका लागि तीनवटै पालिका एक भएर विकासको मोडेल तयार गर्ने र सांसद अनी पार्टीका नेताहरुलाई बोलाएर बहस गर्नुपर्छ । बहसमा निक्लेको ठोस निर्णय कार्यान्वयन गर्नतर्फ स्थानीय पालिकाका जनप्रतिनीधिले काम गर्नुपर्छ । जनताका लागि काम गर्छौ भन्ने तर पालिकामा व्यस्त भएर गाली खाने काम मात्र गर्नुभन्दा संघिय र प्रदेश सांसदहरु तथा पार्टीका नेताहरुलाई एक ढिक्का बनाएर विकासमा लगाउन जरुरी छ । स्थानीय जनप्रतिनीधिले विकासका लागि पहल गर्न जरुरी छ । विकासका लागि केन्द्र र प्रदेश सरकारसंग समन्वय नगरेर विकास हुँदैन । तसर्थ स्थानीय जनप्रतिनीधिहरुलाई जनताले दबाब दिन जरुरी छ ।