साना पार्टीमा समस्या

सम्पादकीय
साना पार्टीमा देखिएको समस्याले नेपालको राजनीतिमा व्यक्तिवादी चरित्र हाबी छ भन्ने प्रष्ट बुझ्न सकिन्छ । टीकापुरलाई आधार बनाएर जन्मेको पार्टी नागरिक उन्मुक्तिको झगडा र राष्ट्रिय स्वतन्त्र पार्टीमा रबी लामिछानेले देखाएको व्यबहारले व्यक्तिवादी चरित्र प्रष्ट बुझ्न सकिन्छ । हुन त ठूला पार्टीमा व्यक्तिवाद र परिवारवाद हाबी छ भनेर भन्ने गरिएको छ तर भर्खरै खुलेका पार्टीमा छोटै समयमा यो रोग देखापरेपछि के भन्ने ? पार्टीमा योगदान गरेका भन्दा हुलहुज्जड गर्ने र क्षमता नभएकाहरुले पार्टी कव्जा गरेपछि आपसमा द्वन्द हुनु स्वभाविकै हो । पार्टीको जिम्मेवार पदमा भएको व्यक्तिको छबि सफा हुनुपर्दैन । व्यबसाय छैन , रोजगार छैन तर उ समाजसेवी बन्न खोज्छ । भोका पेटले कसरी समाजसेवा गर्न सकिन्छ ? भोका पेटले समाजसेवा गर्ने अवसर पाएपछि मनग्य लुट्ने सोचमा रहेकाहरु यतिखेर पढ्नु लेख्नु भन्दा समाजसेवा गर्न सजिलो मानिरहेका छन् र साना पार्टीमा लागेपछि चाडै अवसर पाइन्छ भन्ने सोच पाल्न थालेका छन् । यस्तो राजनीतिमा व्यक्तिवाद र परिवारवाद फस्टाउनु स्वभाविकै हो । अवसर पाएपछि आफ्नालाई मोटाउने योजना ल्याएर काम गर्दा आपसमा द्वन्द मात्र भएको छैन जनताले सबै उस्तै हुन् भन्न थालेका छन् । उस्तैलाई उस्तैको संज्ञा दिदा समस्या भएन तर हरेक पार्टी र समाजमा राम्रा मान्छे पनि छन् । राम्रा मान्छेलाई अवसर नदिने अनी सबैलाई उस्तै हुन् भनेर टार्ने नेपाली संस्कार पनि खराब छ । साना पार्टीमा झनै समस्या देखियो । एक आपसमा मिलेर भन्दा पनि कसले कसरी नाफा लिने भन्ने होडवाजी छ । साना पार्टीमा नयाँ उर्जा हुनुपर्ने भएपनि देखिएन । साना पार्टीमा पनि राम्रोलाई राम्रो भन्न सकिरहेका छैनन् । राम्रो लाई राम्रो भन्न पनि पैसा खुवाउनुपर्ने अवस्था    छ । नेपाली समाजमा समाजसेवाका नाममा धेरै बिकृति छ । यो बिकृति रोक्न हरेक नागरिक सचेत हुन जरुरी छ । आफ्नो समाजमा कस्तो व्यक्तिलाई अवसर दिएपछि राम्रो हुन्छ भनेर छुट्याउने काम समाजका सदस्यहरुको हो । बेलैमा सचेत नहुने अनी पछि भ्रष्टहरु हाबी भए भनेर दुखेसो गर्नु गलत हो ।