सामाजिक अगुवा छान्दा बिचार गर्नुपर्छ

सम्पादकीय
देशको होस् या समाजको होस् त्यो ठाउँको विकासका लागि भूमिका खेल्ने सामाजिक अगुवाका कारण देश र समाजले गति लिन्छ । समाजको विकास गर्ने सवालमा होस् या राष्ट्र निर्माणमा होस् एकताबिना सम्भव छैन । एकता भएन भने देशको अवस्था राम्रो हुँदैन । एकता भएन भने सामान्यतया एउटा परिवारको दैनिकी जीविन पनि कठिन हुन्छ । समाज र देश चलाउन त झनै एकता चाहिन्छ । एकता बनाउनका लागि ठोस नीति र अगुवा पनि स्वच्छ हुनुपर्छ । भ्रष्ट र लोभीपापीले समाजमा एकता कायम गर्न सक्ने कुरै भएन । भ्रष्टहरुकै कारण आज नेपाल समस्यामा परेको छ । नेपाली समाजमा पछिल्लो समय सामाजिक अगुवाहरु धेरै भेटिन्छन् । यस्ता सामाजिक अगुवाहरु पार्टीको सदस्यता लिएर बसेका छन् । यही सदस्यताको आडमा आफुलाई समाजको अव्वल ठान्ने गरेका छन् । समाज बलियो बनाउन स्वच्छ छबि भएका मान्छेहरुलाई स्थान दिन जरुरी छ । पार्टीमा हुलहुज्जडका आडमा पद लिने र पछि समाज दोहन गर्ने प्रबृत्ति बढ्दै गएको छ । सामाजिक अगुवा हौ भन्नेहरु समाजमा आदर्शवान बन्नुपर्छ भन्नुभन्दा अराजकता प्रदर्शन गर्ने गरेका छन् । यस्ता व्यक्तिहरु पार्टीमा अनुसाशनहिनता प्रदर्शन गर्दै इमान्दार कार्यकर्ताको हुर्मत लिने गर्छन् । इमान्दार नेता र कार्यकर्ताले अनावश्यक लोभ बाड्न सक्दैन । लोभीहरु लोभ बाड्नेका पछि लागेर निष्ठावान कार्यकर्ताको हुर्मत लिन व्यस्त हुन्छन् । गणतन्त्रमा चरम बिकृती बढ्दै गएको छ । सामाजिक अगुवाहरु समाजको विकास भन्दा आफ्नो स्वार्थ पूरा गर्नमा व्यस्त छन् । सामाजिक अगुवा समाजको ऐना हो । सामाजिक अगुवा आदर्शवान भयो भने त्यो समाज बिशिष्ट हुन्छ । अगुवा अरुभन्दा बिशिष्ट हुनुपर्छ भनेर बुझ्ने बुझाउने प्रयास भएको पाइदैन । तसर्थ समाजको अगुवा मान्दा उसको इमान्दारिता र क्षमताका बारेमा बुझ्न जरुरी छ । सामाजिक अगुवा मेरो मान्छे र तेरो मान्छे भन्ने हो भने गलत मान्छेले प्रसय पाउछ । गलत मान्छेको हातमा नेतृत्व गयो भने न समाज एक ढिक्का हुन्छ नत राष्ट्रमा एकता हुन्छ । यस्ता बिषयमा सबै सचेत हुन जरुरी छ ।