सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखिकरण

दुर्गा देवकोटा
टीकापुर, १० साउन/योगदानमा आधारित र योगदान रहित सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धी टीकापुरमा अभिमुखीकरण भएको छ । सुरक्षा कोषमा आबद्ध हुन रोजगारदाताबाट २० प्रतिशत, श्रमिकबाट ११ प्रतिशत र कोष बाट १ प्रतिशत गरी ३१ प्रतिशत जम्मा हुन्छ ।
टीकापुर नगरपालिका र सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा सहजीकरण गर्दै श्रम कार्यालय कैलालीका प्रमुख जनक सिंह उखेडा ले सामाजिक सुरक्षा कोषमा कर्मचारी तथा श्रमिकलाई आवद्ध गर्न स्थानीय पालिकाको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
उहाँले सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत सबै कामदार तथा श्रमिकलाई कोषमा आवद्ध गर्नुपर्ने मा जोड दिनुभयो । उहाँका अनुसार अनौपचारिक क्षेत्रको कुरा गर्दा टीकापुरको सिद्धार्थ होटलका सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको उखेडा ले जानकारी दिनुभयो । त्यसबाहेक, पालिका, अन्य सरकारी निकाय, होटल तथा उद्योग, विद्यालय, संघसंस्था सबै क्षेत्रमा कार्यरत कर्मचारीलाई कोषमा आवद्ध गर्न उहाको आग्रह छ ।
उहाँका अनुसार नेपालमा अहिले सम्म २१ हजार ५५ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । योगदानकर्ताको संख्या २३ लाख ९७ हजार ३ सय उनानब्बे रहेको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेमा औपचारिक क्षेत्रबाट ६ लाख ४ हजार चारसय पैसी, वैदेशिक   रोजगारीमा गएकाहरु १७ लाख ९१ हजार ७७५, अनौपचारिक क्षेत्रका ७ सय २१ जना आबद्ध छन् ।
तथ्यांक हेर्दा सामाजिक सुरक्षा कोषमा सुदूरपश्चिममा ३१५ रोजगारदाता आबद्ध  छन् । सुदूरपश्चिममा ३ हजार ८९ जना कोषमा जोडिएका छन् ।  यो संख्या धेरै न्यून रहेको उहाँको भनाइ छ ।
सरकारले सबैलाई पेन्सन पाउने व्यवस्था गर्नका लागि सामाजिक सुरक्षा।कोषमा आबद्ध गर्न लागेकाले स्थानीय पालिकाले सघाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख यज्ञराज न्यौपानेले सामाजिक सुरक्षा कोषमा हरेक नागरिकलाई जोड्न सकेमा सबैलाई फाइदा हुने बताउनुभयो ।
सामाजिक सुरक्षा कोषमा आबद्ध भएमा विभिन्न खाले सुविधाहरु पाउनेछन् । सामाजिक सुरक्षा आएको निरन्तरता भएकाले मानिसलाई आर्थिक समस्या भएका बेला काम लाग्ने भएकाले सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई आबद्ध गर्ने सरकारको लक्ष्य छ । मानिसलाई शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकता पूरा गर्नका लागि सरकारले सामाजिक सुरक्षा कोष/सामाजिक सुरक्षा कार्यक्रम ल्याएको हो ।
कोषमा आबद्ध भएकाहरुलाई पेन्सनका लागि दुईथरि मापदण्ड छन् जसमा नियमित १५ वर्ष योगदान गरेको हुनुपर्ने र अर्को ६० वर्ष पूरा भएको हुनु पर्नेछ ।
सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकले बिरामी हुँदा विभिन्न खाले औषधि उपचार सुविधा पाउनेछन् । यसका साथै योगदानकर्ताका पति वा पत्नीले समेत यो सुविधा पाउने व्यवस्था गरिएको छ । बिरामीका लागि १ लाखसम्मको औषधि उपचार खर्च पाइने र घातक रोग लागेमा १० लाखसम्मको उपचार खर्च पाउने व्यवस्था गरिएको र दुर्घटना भएमा ७ लाखसम्मको उपचार सुविधा पाइने छ ।