सामुदायिक सहकारीका सञ्चालकलाई व्यवस्थापन तालिम

टीकापुर, १९ चैत/सामुदायिक सहकारी संस्था सत्तीले सहकारी का सञ्चालक र कर्मचारीहरुलाई सहकारी व्यवस्थापन तालिम दिएको छ ।
सञ्चालक समिति, लेखा समिति, कर्मचारी र केही शेयर सदस्य सहभागी तालिममा सहकारीको सिद्धान्त, सञ्चालन नीति, सम्पत्ति शुद्धिकरण लगायत का विषयमा जानकारी दिइएको छ ।


सहकारीका अध्यक्ष पलबहादुर बस्नेतले नयाँ सञ्चालक समिति लाई सहकारीबारे जानकारी गराउने र शेयर सदस्यसम्म परिचालन गराउन तालिम आयोजना गर्नु परेको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको सहकारी रजिष्ट्रार कार्यालयका प्रशिक्षक देवराज पन्तले सामुदायिक सहकारी संस्था २०६६÷६७ सालदेखि नै राम्रो सहकारीका रुपमा दर्ज भएको र सहकारीले कार्यविभाजन गरेर अगाडि बढे अझै राम्रो हुने सुझाव दिनुभयो ।
दुई दिन चलेको तालिमको समापन कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्ष हरिकुमार कार्कीले सञ्चालक समिति र कर्मचारीले अझै राम्रो काम गरेर सहकारीलाई अग्रपथमा लम्काउन सुझाव दिनुभयो । कार्यक्रमका सहभागी मृगेन्द्र कुमार स्वाँरले सबैतिर सहकारीहरु डुबिरहेको हल्ला चलेका बेला सामुदायिक सहकारीका बारेमा र सहकारी सञ्चालनका कानूनी पक्षका बारेमा जानकारी पाइएको बताउनुभयो ।
सहकारीको व्यवस्थापक दीपक कुमार बैद्यले सञ्चालक गर्नु भएको कार्यक्रममा संस्थाका सचिव कृत ठकुल्लाले तालिममा सिकेका विषयवस्तुबारे समिक्षा गर्नुभएको थियो ।
टीकापुर र भजनी नगरपालिका कार्यक्षेत्र भएको सामुदायिक सहकारी संस्थाका दुई हजार एक सय शेयर सदस्य छन् ।