सार्वजनिक स्थलको भाडा नतिर्ने प्रबृत्ति

सम्पादकीय
टीकापुरमा संघ संस्थाको जग्गामा होस् या घरमा बस्नेहरुले हुन् भाडा तिर्ने गरेका छैनन् । टीकापुर अस्पतालको जग्गा भाडामा बसेकाहरुले करिब ५५ लाख रुपैयाँ भन्दा भाडा तिर्न बाँकी छ । अस्पताल जस्तो संबेदनशिल संस्थाको जग्गा भाडामा लिएर भाडा नबुझाउनु अपराध हो । जे गरेपनि हुन्छ भन्ने मानसिकतालाई बलियो बनाउने काम भइरहेको छ । उता टीकापुर नगरपालिकाको भवनमा बसेकाहरुको हरिबिजोग छ । एउटा कोठाको २८ देखि ३२ हजार भाडा छ । यति महगाें भाडा कसरी तिर्न सकिन्छ ? कोठा छाडे भनेर निबेदन दिएको एक बर्ष भन्दा बढी भयो तर निकास निस्कन सकेको छैन भने अहिले भाडा उठ्न छाडेको छ । जे कुरा पनि समयमा गर्नुपर्छ भन्ने हो । समयमै निकास खोजेको भए नगरपालिकामा समस्या हुने थिएन । अन्य संघ संस्थाको अवस्था पनि त्यस्तै छ । संघ संस्थाको भवन भाडमा लिएर बसेपछि समयमै भाडा तिर्नु पर्छ । संघ संस्थामा नेतृत्व गर्नेहरु पनि भाडा उठ्दैन भनेर कानमा तेल हालेर सुतेको अवस्था छ । समयमै भाडा असुल उपर गर्नु संस्थाको कर्तव्य हो । भाडा उठ्दैन भने जग्गा होस् या घर खाली गराउन जरुरी छ । खाली भएपछि अरुलाई दिन सजिलो हुन्छ । भाडाबाट संस्थाको गतिबिधि गर्न सहज हुन्छ । आर्थिक भएपछि संस्थामा काम गर्न सजिलो हुन्छ । सरकारको पैसाले संस्थाका भवन निर्माण भएका हुन् । यसरी निर्माण भएका घरबाट भाडा उठाउने हो भने सरकारको पैसा किन खर्च गर्ने ? अस्पताल लगायत हरेक संस्थाले प्रशासनको सहयोग लिएर असुल उपर गर्न बाँकी रहेको भाडा यथासिघ्र असुल्न जरुरी छ । मनपरी गर्ने सोचलाई रोक्नुपर्छ ।