टीकापुर,९ जेठ\टीकापुर स्थित रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यान्वयन इकाईले आर्थिक वर्ष २०७८\०७९ मा करिब १० करोड रुपैया खर्च गर्ने भएको छ । आयोजनामा २७ करोड रुपैयाँ बजेट भए पनि विभिन्न कारणले १० करोड रुपैयाँ मात्र खर्च हुने कार्यालयले जनाएको छ ।
२७ करोड मध्य ३ करोड रुपैया कोल्ड स्टोर, डेढ करोड केराको टिस्यु कल्चरको बजेट र अन्य गरी करिब साढे आठ करोड रुपैया खर्च हुन नसक्ने बजेटमा पर्छ ।
‘‘अहिलेसम्म ३ करोड रुपैयाँ खर्च भएको छ, बिल भुक्तानी दिन बाँकी अन्य कार्यक्रमका लागि ७ करोड रुपैयाँ थप खर्च हुने अनुमान छ,’’ रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यान्वयन इकाईका प्रमुख गोबिन्दराज जोशीले भन्नुभयो, ‘‘किसानका नाममा आएको रकम हो, व्यबस्थित गरेर खर्च गर्न खोज्दा केही ढिलाई भएको हो ।’’
आफु आएपछि किसानकै खाता मा रकम भुक्तानी दिने परम्परा को थालनी गरेको भन्दै जोशीले किसानले बिल भपाई मिलाएर ल्याउँदा ढिलो हुने गरेको बताउनु भयो । जोशी टीकापुरमा २०७८ साल कात्तिक महिनामा आउँदा माघ अन्तिमसम्म बजेट रोक्का थियो । ‘‘शिर्षक अनुसार बजेट बढी खर्च भएका कारण माघ महिनाको अन्तिमसम्म बजेट रोक्का थियो यसले गर्दामा पनि बजेट खर्चमा कमी भएको हो ।’’ कार्यालय प्रमुख जोशीले भन्नु भयो ।
सिँचाइ आयोजना मार्फत कृषि इकाईले बीउ, मल, बिषादीमा अनुदान दिने गरेको छ भने कृषि यान्त्रिकिकरण, सहकारीलाई बीउ उत्पादन, भण्डारण, प्रासेसिङ, पूर्बाधारमा सहयोग गर्ने गरेको छ ।
यसै गरी केरा र च्याउ खेती तथा पशुपालनमा नश्ल सुधार र पशु स्वास्थ्य व्यबस्थापनमा किसानलाई आयोजनाले सहयोग गर्दै आएको छ ।
विश्व बैङ्कको आर्थिक सहयोग मा सञ्चालित कार्यक्रम अन्र्तगत १२ लाख ४७ हजार अमेरिकी डलर सहयोग छुट्याइएकोमा सबै खर्च भएर करिब ८४ हजार अमेरिकी डलर मात्र बजेट बाँकी रहेको जनाइएको छ । आयोजना मार्फत बर्षेनी २५ सय देखि ३ हजार किसानले लाभ लिएको देखिएपनि दोहरिदा तेहरिदा करिब एक हजार किसानले मात्र लाभ लिएको पाइन्छ । आयोजना बाट कतिपयले पटक पटक लाभ लिने गरेको कार्यालयका कर्मचारी को भनाइ छ ।
नाफा लिन पल्केका केही व्यक्तिले आयोजना प्रमुखलाई अनावश्यक दबाब दिने र राजनीतिक दलका नेताहरुको आँडमा अनुदान लिने प्रबृत्तिलाई यतिखेरका कार्यालय प्रमुखले निरुत्साहित गर्न खोजेपछि लाभ लिन पल्केकाहरु तिलमिलाएका छन् । मूल कुला समितिका पदाधिकारी, राजनीतिक दलका नेता र कर्मचारीको मिलोमतोमा अनुदान दुरुपयोग हुने गरेको छ । अनुदान व्यबस्थित गर्न खोज्दा कतिपयलाई पचेको छैन ।
राजनीतिक आडमा टाठाबाठा ले लाभ लिन खोज्दा आयोजना क्षेत्रमा रहेका सबै किसानले समान तवरले लाभ लिन सकेका छ्रैनन् । चर्चामा रहेको कोल्ड स्टोर निर्माण आउँदो आर्थिक वर्षबाट शुरु हुने भएको छ । सहकारी, कम्पनी मार्फत प्रतिस्प्रधा गराएर कोल्ड स्टोर निर्माण गरिेने सम्झौता वल्र्ड बैङ्कसँग भएकोमा रानी जमरा कुलरिया मुल कुला समिति मार्फत पनि गर्न सकिने भनि भर्खरै सम्झौतामा थप गरिएको छ । यसरी सम्झौतामा थप भएपछि मूल कुला समितिले कोल्ड स्टोर निर्माण प्रकृया अघि बढाउन पाउने भएको छ ।
मूल कुला समितिले १० प्रतिशत रकम अर्थात ७५ लाख रुपैया संकलन गरेको छ भने १५ प्रतिशत रकम टीकापुर नगरपालिकाले बेहोर्ने सहमति भएको जनाइएको छ ।