सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी २६ औं वर्षमा प्रवेश,टीकापुर स्थित कर्णालेश्वर आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

टीकापुर, २४ माघ/सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी २६ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा टीकापुर शाखाले मंगलबार गरिब जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो २६ औं वार्षिकोत्सब मनाएको छ ।
टीकापुर स्थित कर्णालेश्वर आधारभूत विद्यालय–का १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको टीकापुर शाखा का प्रबन्धक छत्रबहादुर बोगटीले बताउनुभएको छ ।


‘देशभरका शाखाले विभिन्न सामाजिक कार्यहरू गर्दै २६ औं वार्षिकोत्सब मनाएका छन् । त्यसैअनुसार हामीले पनि जेहेन्दार गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गरेका हौं ।’ उहाँले भन्नुभयोे, ‘प्रत्येक वर्ष यसैगरी सिद्धार्थको वार्षिकोत्सब मनाउने गरेका छौं । जसका कारण समाज मा पनि सिद्धार्थको भुमिका देखिओस ।’


टीकापुर नगरपालिका वडा नं. ५ साहीपुरबाट कर्णाली नदीको जोखिमबाट विस्थापित भएर हाल वडा नं. १ को गणेशपुर शिविरमा सरेको विद्यालयमा शिविरका बालबालिका अध्ययन गर्दै आएका छन् ।
आर्थिक रुपमा विपन्न बाल बालिकाका लागि छात्रवृत्ति कार्यक्रमले अध्ययनमा सहजता हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद भण्डारीले बताउनुभएको छ ।


पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ । सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।
हस्पिटालिटीको सामाजिक उत्तरदायित्व सम्बन्धी काम गर्ने संस्था सिद्धार्थ एसोसियसन फर केयर एण्ड रेस्पोन्सिबिलिटी ‘साकार’ मार्फत यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
वार्षिकोत्सवको एक साता आफ्ना सबै आउटलेट मार्फत रक्तदान, सरसफाइ, अनाथलयहरू मा खाना वितरण तथा विद्यालय लाई शिक्षण सामाग्री र विद्यार्थी लाई लत्ताकपडा सहित आवश्यक सामाग्री वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्वलाई मुल मर्मका साथ अगाडि बढेको यस हस्पिटालिटीले सरसफाइ, विद्यार्थीहरूका लागि आवश्यक सामाग्री तथा स्कुल ड्रेस, स्कुल ब्याग लगायतका सामाग्रीहरू प्रदान गरेको छ ।
हस्पिटालिटीको कैलाली, चुम्लिङटार, सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायत देशभर फैलिएका आउटलेटहरू मार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रम गरिएको हो ।


वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगत देखी आर्थिक मन्दीको असर पर्दा पनि होटलले नाफा कमाउनु निकै नै उपलब्धी मुलक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयोे,‘यो गुणस्तर युक्त आर्थिक रुपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनी लाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो ।’
सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अनुरुप सिद्धार्थ हस्पिटालिटीले साकार नामको सामाजिक मुनाफा रहित संस्था सञ्चालनमा रहेको छ । जसको माध्यमबाट असहाय, विपन्न, दीन/दुःखीहरुको पहिचान गरी कुनै विशेष अवसर जुटाई समय–समयमा सहयोग गर्दै आएकोछ ।
यस वर्ष साकारमार्फत हस्पिटालिटीले क्यान्सर पिडित र मृगौला पिडितलाई आर्थिक सहयोग गरेको थियो ।
यस्तै रुकुम र जाजरकोटमा गएको भूकम्पका पिडितहरुमा राहत स्वरुप ५ लाख रुपैयाँको सामाग्री सहयोग गरिएको हस्पिटालिटीले जनाएको छ ।
सद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी २६ वर्ष अघि टीकापुरमा खाजाघरबाट स्थापना भएको थियो ।