टीकापुर, २२ कात्तिक\सुदुरपश्चिममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर शुरु भएको छ । कैलालीको टीकापुर स्थित पर्यटकीय स्थल टीकापुर पार्कबाट शुक्रबार ट्रफी टुरको शुरुवात गरिएको हो ।


ट्रफी टुरको शुरुवात गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटका कारण नेपाललाई विश्वभर चिनाएको बताउँदै क्रिकेटलाई माया गर्न आग्रह गर्नुभएको छ ।
उहाँले सुदुरपश्चिम क्रिकेटको उर्भर भूमि भएकाले यो ट्रफी टुरलाई सफल बनाउन सबैले सहयोग गर्नेमा आफू आसावादी भएको बताउनुभयो । क्रिकेटको विकासका लागि राज्यको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।
सुदुरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले ट्रफी टुरमा सहभागिता जनाउन सबैलाई आग्रह गर्दै गएको वर्ष दोस्रो भएकोमा यस वर्ष सुदुरपश्चिम रोयल्स प्रथम हुने आसाका साथ मैदानमा उत्रिने बताउनुभयो । शाहले टीकापुरमा क्रिकेट मैदान निकै आवश्यक रहेको छ र त्यसको लागि स्थानीय सरकारले मैदान निर्माणका लागि काम थालनी गरे आफूहरुबाट हुने सहयोग गर्न तयार रहेको बताउनु भयो ।

टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगांैरा थारुले नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो चरणको ट्रफी टुर सुदुरपश्चिममा कैलालीको टीकापुुरबाट शुरु हुनु टीकापुरका लागि गौरवको विषय भएको बताउँदै ट्रफी टुर सफल बनाउन सहयोग गर्ने बताउनुभयो ।
कैलालीको टीकापुर पार्कबाट शुरु भएको ट्रफी टुर पहिलो दिन टीकापुर बजार हुँदै, कैलालीको चिसापानी, लम्की, बौनिया, सुखड, मसुरीया, चौमाला, अत्तरीया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्ने र आज कैलालीको धनगढी अत्तरीया लगाएतका स्थानमा ट्रफी टुरको ¥याली निकालिने सुदुरपश्चिम रोयल्सले जानकारी दिएको छ ।
विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने ट्रफी टुरको उद्देश्य रहेकोले यो टुरमा क्रिकेट प्रेमीहरुको सक्रिय सहभागिता रहनेमा आफू आसावादी रहेको सुदुरपश्चिम रोयल्सले बताएको छ ।

ट्रफी टुरको शुरुवात गर्ने क्रममा स्थानीयहरुले थारु संस्कृति झल्किने किसीमका विभिन्न झाँकीहरु समेत प्रदर्शन गरिएका थिए । सुदुरपश्चिम रोयल्स यस वर्ष पनि गत सिजनका मार्की तथा कप्तान दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिनेछ ।

सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरीसँगै आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा,मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन् । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि शुरु हुँदैछ ।