सुदूरपश्चिम यातायातले टीकापुर काठमाण्डौका लागि सुविधा सहितका ५ वटा बस सञ्चालनमा ल्यायो

टीकापुर, १५ मंसिर/सुन्दर सुदूरपश्चिम यातायातले टीकापुर काठमाण्डौका लागि सुविधा सहितका ५ वटा बस सञ्चालन मा ल्याएको छ । सुन्दर सुदुरपश्चिम यातायात प्रालि धनगढीले आज टीकापुर बसपार्कमा एक कार्यक्रम आयोजना गरी एसी सहित भिआइपी सोफा सहितका ५ वटा बस सञ्चालनमा ल्याएको हो ।
४२ सिटे बसमा ४ वटा सुत्न मिल्ने सहितका सिट रहेको जनाइएको  छ । यात्रुको सुविधा लाई ध्यानमा राखेर अब सुदूरपश्चिम यातायातले दैनिक १ बस भिआइपी सोफा सहितको अनिवार्य टीकापुरबाटै काठमाण्डौ पठाउने भएको छ ।
सुन्दर सुदुरपश्चिम यातायात प्रालि धनगढी अध्यक्ष पदमराज सापकोटाले २०३४ सालमा टीकापुरमा पहिलो पटक बस ल्याउन पहल गर्ने टीकापुरका पदम बमलाई धन्यवाद दिँदै विगतमा विहान छुटेको बस साझ धनगढी पुगेको स्मरण गर्दै अहिले सहज भएको बताउनुभयो ।
 अध्यक्ष सापकोटाले यातायात प्रालि नागरिकको विश्वास थप बलियो बनाउन प्रयासरत रहेको बताउदै साना ठुला गरि यातायात प्रालिमा साढे ५ सय सवारी साधन आबद्ध भएका,६ सय पुगाउने गरि काम भइरहेको बताउनुभयो  ।
बस सेवा उद्घाटन गर्दै नगर प्रमुख रामलाल डगौरा थारुले निजी क्षेत्रले स्वच्छ प्रतिस्पर्धा गरेर सुविधा सहितको बस सेवा दिन थालेकोमा धन्यवाद दिनुभयो । उहाँले सरकारले नै गरिदेला नभनी निजी क्षेत्रबाट भएको प्रयास पनि विकासको साधक भएको बताउनुभयो । उहाँले योजनावद्ध टिकापुर विकासमा सबै लागेमा सम्भव रहेको बताउनुभयो ।
कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्ण रिमालले सुविधा सम्पन्न बस देख्दा पुराना दिन स्मरण गराउनुभयो । विगतमा बसपार्क प्रवेश नगरी रोडमा बस रोकिएर जाने गरेका, वि.सं.२०४१ साल मा आफूहरुले बसपार्क भित्र बस ल्याउनुपर्छ भनीपहल गरेको स्मरण गराउनुभयो । बसपार्क मर्मत गरेर बस र चालक स्वागत गरेको जानकारी दिँदै आज सुविधा सहितका बस भित्रिएको देख्दा टीकापुरमा धेरै विकास भएको महसुस गरेको बताउनुभयो । कार्यक्रम यातायात प्रालिका महासचिव सुरेन्द्र बोहराले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत प्रशासन उपाध्यक्ष दामोदर कठायतले गर्नुभएको थियो ।
कार्यक्रममा स्थापनाकालदेखि यातायात सेवा सञ्चालनमा योगदान दिनुभएका टीकापुरका पदम सिँह बमलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।